सगुन साकोस, हरिवनले ग-यो व्याज छुट , सगुन शिक्षा सहकारी संस्था लि. हरिवनद्वारा सञ्चालित सगुन आवासीय विद्यालयले दियो शुल्क छुट
सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.ले लकडाउन अवधिको कर्जाको हर्जाना छुट गर्नुका साथै लकडाउनले समस्यामा परेका आफ्ना नियमित रुपमा ऋणको किस्ता र व्याज बुझाउने शेयर सदस्यहरुलाई २०७६ चैत्रदेखि २०७७ असार महिनासम्मको ऋणको व्याजमा १२ प्रतिशत र नियमित रुपमा व्याज मात्रै बुझाएका शेयर सदस्यहरुलाई त्यस अवधिको ऋणको व्याजमा १० प्रतिशत र सोही अवधिको ऋणको किस्ता र व्याज एकमुष्ट बुझाएका सदस्यलाई कर्जाको व्याजमा ६ प्रतिशत छुट गरेको जनाइएको छ । यही असार मसान्तसम्म १०,०४५ जना शेयर सदस्य , रु.९९,७४,०६,६९३ निक्षेप संकलन र ८६,९२,१२,५५३ कर्जा लगानी गरेको सो संस्थाले ऋण लगानी , ऋण असुली र ऋणको व्याज छुट सम्बन्धी कार्यविधि-२०७७ तयार गरी उक्त कार्य गरेको प्राप्त खबरमा उल्लेख छ । लगाउनले समस्यामा परेका आफ्ना शेयर सदस्यहरुलाई थोरै भएपनि राहत मिलोस् भनेर सो कार्य गरेको सोही संस्थाका अध्यक्ष बाबुराम घिमिरेको भनाई छ ।
यसैगरी सर्लाहीको हरिवनमा नै रहेको सगुन शिक्षा सहकारी संस्था लि.द्वारा सञ्चालित सगुन शिक्षा आवासीय विद्यालय, हरिवन, सर्लाहीले विद्यार्थीहरुलाई नयाँ शैक्षिक-शत्र शुरु भएको बैशाखदेखि असार महिनासम्मको शुल्क छुट गरेको जानकारी प्राप्त भएको छ । २०७१ सालमा स्थापना भएको र नर्सरीदेखि कक्षा ११ सम्म पठन पाठन हुने र ९१५ जना विद्यार्थी अध्ययनरत तथा ६२ जना शिक्षक र कर्मचारी रहेको सो विद्यालयले शिक्षक र कर्मचारीहरुलाई त्यस अवधिको आधारभूत पारिश्रमिक दिइएको र त्यस बापत रु.२९,२५,६६० र शुल्क छुट गर्दा रु. ४८,४४,७०० दायित्व बहन गरेको सगुन शिक्षा सहकारी संस्था लि.का अध्यक्ष समेत रहेका बाबुराम घिमिरेको कथन छ । ती दुबै संस्थाको उक्त कार्यप्रति सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाई सहित सरोकारवालाहरुले खुशी व्यक्त गरेका छन् । त्यस विद्यालयमा कक्षा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई वर्षमा कम्ती ३ महिना सगुन बचत तथा ऋण सहकारी संस्थामा इन्टर्नशीप गर्न लगाउने र त्यस अवधिमा इन्टर्नशीप गर्न विद्यार्थीलाई खाजा खर्च उपलब्ध गराउने विद्यालयको भनाई छ ।
उक्त संस्थाका शेयर सदस्यका बालबालिकाको मासिक शुल्कमा १० प्रतिशत तथा सगुन शिक्षा सहकारीको शेयर खरिद गरेका अन्य सहकारी संस्थाका शेयर सदस्यका बालबालिकालाई शुल्कमा ५ प्रतिशत छुटको दिने व्यवस्था गरेको बताइएको छ ।

