सामूहिक साकोस, भुलाँछा, भक्तपुरको २ वटा सेवाकेन्द्र सञ्चालनमा
भक्तपुर नगरपालिका-४, भुलाँछामा मुख्य कार्यालय रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. ले भक्तपुरको सूर्यविनायक नगरपालिका-६, बुद्ध र मध्यपुर थिमि नगरपालिका-६ , समतामा आफ्ना सदस्यसेवा केन्द्र यही साउन १७ गतेदेखि सञ्चालनमा ल्याएको छ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले बुद्धमा र मध्यपुर थिमि नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष इन्द्र प्रजापतीले समतामा सो संस्थाको सदस्य सेवाकेन्द्रको उद्घाटन गर्नु भयो । उक्त सेवाकेन्द्रको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका मेयर थापाले सामूहिक बचत तथा ऋण सहकारी संस्थाको थप प्रगतिको कामना गर्दै सूर्यविनायक नगरपालिकाले सहकारीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने गरी कार्य गरिरहेको बताउनुभयो । उहाँले भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका प्रमुखहरु वीच छलफल भई भक्तपुरका ४ वटै नगरपालिका भित्रका सहकारी संस्थाहरुको अनुगमन, नियमन र प्रशासनिक कार्यमा एकरुपता ल्याउन सहकारी सँग सम्बन्धित कामकाज सहज र सरल बनाउनु पर्ने आवश्यकता औंल्याउनुभयो । त्यसैगरी मध्यपुर थिमि नगरपालिका वडा नं.६ का वडा अध्यक्ष इन्द्र प्रजापतीले सामूहिक साकोसको प्रगतिको कामना गर्दै आफू सहकारी विकास र प्रवर्द्धनमा लागिरहेको बताउनुभयो । ती सेवाकेन्द्र सञ्चालनमा ल्याएकोमा जिल्ला सहकारी संघ लि., भक्तपुरका उपाध्यक्ष कृष्णभक्त घजु , सञ्चालक सहना पसखल ,भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष हरि बल्ल , कोषाध्य्यक्ष काञ्छा भक्त घजु लगायतले शुभकामना व्यक्त गर्दै सामूहिक साकोसको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
उहाँहरुले सहकारी संस्था स्व-नियममा सञ्चालन हुने संस्था भएकोले सहकारी संस्थाको लेखा परीक्षक नियुक्तिमा स्थानीय तहले हस्तक्षेप गर्न नहुने बताउदै कोरोना महामारीको समयमा सहकारी संस्थाको साधारणसभाको लागि सहकारी विभाग सहितका राज्यका नियमनकारी निकायले मार्गनिर्देशन गर्नु पर्ने खाँचो औल्याउनुभयो ।
बुद्ध सदस्य सेवाकेन्द्रको उद्घाटन कार्यक्रमको अध्यक्षता सोही सदस्य सेवाकेन्द्र सञ्चालन उप-समितिका संयोजक मानध्वज तामाङ्ग र सञ्चालन त्यस संस्थाकी अधिकृत शिला गोसाईले गर्नु भएको थियो । त्यसैगरी समता सदस्य सेवाकेन्द्रको उद्घाटन कार्यक्रमको अध्यक्षता सो सेवाकेन्द्र सञ्चालन उप-समितिका संयोजक चन्द्रलाल भोमीले र सञ्चालन त्यसै संस्थाकी अधिकृत विन्दा नायभाले गर्नु भएको थियो ।
यस अघि बुद्ध साकोस र समता साकोस सँग एकीकरण गरेको उक्त संस्थाको सदस्य सेवाकेन्द्र विस्तार कार्यक्रममा एकीकरण पूर्वका बुद्ध साकोस र समता साकोसका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्य र संस्थापक अध्यक्षलाई मेयर थापा र वडा अध्यक्ष प्रजापतीले प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो ।
त्यस अवसरमा सोही संस्थाका अध्यक्ष धनेशराज राजोपध्यायले यस सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरु प्रति उत्तरदायी भई सञ्चालन सञ्चालन भई निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताउदै आफ्ना शेयर सदस्यहरुको हितलाई ध्यान दिएर यस संस्थाले सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ भन्नुभयो । यस्तै त्यसै संस्थाका संस्थापक अध्यक्ष श्यामप्रसाद मुनकर्मीले यस सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.ले एकैदिन आफ्ना दुई वटा सेवाकेन्द्र उद्घाटन गर्न सक्नु यस संस्थाको ठूलो सफलता भएको बताउदै आगामी दिनमा यस संस्थाको बोटसँगै पलाएका यी २ वटै पालुवा झन् बलियो हुन सकून भनी शुभकामना व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा त्यस संस्थाका सल्लाहकार मोहनकृष्ण श्रेष्ठ , उपाध्यक्ष राजभाइ भेले , सचिव कृष्णहरि सैँजु र लेखा सुपरीवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठले पनि आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएक़ो थियो ।
उक्त संस्थाको ती सेवाकेन्द्रहरुको उद्घाटनको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरिएको थियो ।

