नेपाल सहकारी बैंक लि. स्थापनाको तयारीमा
प्रस्तावित ‘नेपाल सहकारी बैंक लि.’ स्थापनाका लागि प्रक्रियागत कार्य अगाडि बढिरहेको जानकारी प्राप्त भएको छ । सो बैंक स्थापनाको लागि नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका नि:वर्तमान सञ्चालक सुरेन्द्र भण्डारीको संयोजकत्वमा तदर्थ समिति र सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्यीय विज्ञ समिति गठन गरी प्रक्रियागत कार्य अगाडि बढेको र यसको स्थापनाको लागि सहकारीकर्मीहरु वीच छलफल तथा अन्तर्क्रिया अगाडि बढेको देखिएको छ । नेपाल सहकारी बैंक लि. लाई व्यवसायिक सहकारी बैंकको रुपमा सञ्चालन गर्ने , यसको सञ्चालन पछि अहिलेको राष्ट्रिय सहकारी बैंक लि.समेत प्रतिस्पर्धी भई गुणस्तरीय सेवा दिन सक्ने र समग्र सहकारी अभियानलाई यसले गुणात्मक ढंगले विकास गर्न सहयोग गर्ने उक्त बैंक स्थापनाका अभियानकर्मी एवं नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का कोषाध्यक्ष पुष्प पौडेलको भनाई छ ।
‘एउटा मात्र सहकारी बैंकले देशभरका ३५ हजार सहकारी संघ संस्थालाई गुणस्तरीय सेवा प्रवाह गर्न कठिन हुने र एउटा मात्रै सहकारी बैंक हुँदा एकाधिकार कायम हुन गई सबै सहकारीले गुणात्मक सेवा लिन नसक्ने भएकोले सबै सहकारीलाई सहज रुपमा गुणस्तरीय सेवा पु-याउने र नेपालको संविधान , २०७२ ले परिकल्पना गरे अनुरुप नेपालको राष्ट्रिय अर्थतन्त्रको तेस्रो खम्बा सहकारी क्षेत्रलाई मजबुत बनाउनको लागि यो बैंक आवश्यक रहेकोले यसको स्थापनाको प्रक्रियागत कार्य अगाडि बढाइएको सोही बैंक स्थापनाका अर्का अभियानकर्मीले बताउनुभयो ।
यो बैंक स्थापनाको लागि ३०० भन्दा बढी सहकारी संस्थाको फाइल संकलन भई सकेको र कोरोना भाइरस(COVID-19) को कहरले केही समस्या उत्पन्न भए पनि थप सहकारी संस्थाहरुको फाइल जम्मा हुने क्रम जारी रहेको जनाइएको छ ।
सहकारी ऐन,२०७४ मा ३ वर्ष सम्म लगातार नाफा आर्जन गरेका कम्तीमा ५०० वटा सहकारी संस्था र तिनको चुक्ता पूँजी रु.३ अर्व र रु.५० करोड जगेडा कोष भएमा सहकारी बैंक स्थापना गर्न सकिने उल्लेख छ ।

