एक व्यक्ति- एक सहकारी
– बालकृष्ण धोजु
व्यवस्थापक
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
अन्तर्राष्ट्रिय सहकारी महासंघको परिभाषा अनुसार सहकारी संस्था संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रहने उद्यमको माध्यमबाट आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवं आकांक्षाको अभिप्राप्तिका लागि स्वेच्छाले एकताबद्ध ब्यक्तिहरुको स्वायत्त संगठन हो । आर्थिक, सामाजिक तथा साँस्कृतिक आवश्यकता समुदाय अनुसार फरक हुन सक्छ । समुदाय पिच्छे सहकारी संस्थाको सेवा सुविधा फरक हुन्छ । हरेक सहकारी संस्थाको आफ्नै पहिचानका सेवा सुविधाहरु हुन्छ । मानिसका अन्नगिन्ती आवश्यकताहरु हुन्छ । ती आवश्यकता परिपूर्तीका लागि बहु सहकारीमा सदस्य भएर पनि पूरा गर्छन । सहकारीकोे पहिलो सिद्धान्त स्वेच्छिक तथा
खुल्ला सदस्यता हो । यस सिद्धान्त अनुसार सहकारीमा कुनै पनि व्यक्ति सदस्य हुन र सदस्यता त्याग्न सक्छन् ।
सहकारी ऐन २०४८ मा एउटा सहकारीमा सदस्य भई सकेपछि अर्को सहकारी संस्थामा सदस्य हुन नहुने कानुनी
बन्देज थिएन । फलस्वरुप: एउटै व्यक्ति धेरै वटा संस्थामा सदस्य भएका छन् । बचत पनि गरेको छ र ऋण
उपभोग पनि गरेका छन् । यसले पक्कै सदस्य संख्यामा दोहोरापना ल्याएको छ । यसले सहकारी संस्था र सदस्यलाई फाइदा पनि पु-याएको छ । कति समस्याहरु पनि सिर्जना गरको छ । दोहोरो सदस्यका फाइदाहरु यस
प्रकार रहेको छ ।
१) सहकारीको सख्यात्मक बृद्धि भई नेतृत्वकर्ता संख्यामा बृद्धि हुनु ।
२) सहकारीमा सदस्यको अपनत्वमा बृद्धि भई सानो सहकारीको बृद्धिमा टेवा पुग्ने ।
३) सदस्यले धेरै सहकारीमा सदस्य भई बचत गर्न पाइने ।
४) सदस्य बहु-सहकारीबाट पाइने सेवाहरु उपभोग गर्न पाउने ।
५) सहकारी बीचको स्वस्थ प्रतिस्पर्धाले संस्थाहरुको बृद्धि विकासमा टेवा पुग्ने ।
६) सम्पन्न सदस्यले जम्मा गरेको रकम मध्यम वर्गले उपभोग गर्न पाउने अवसर मिल्ने ।
७) सहकारीको समानुपातिक विकासमा सहयोग पुग्ने ।
सहकारी संस्थामा असल सदस्य भए दोहोरो सदस्यले समस्या भन्दा पनि सहकारी र सदस्यको बृत्ति विकासमा सहयोग
गर्दछ तर सदस्यको दोहोरो सदस्यताको बारेमा साख सूचनाको अभावमा सहकारी क्षेत्रमा तपसिलका समस्या तथा विकृतीले
प्रशय पाएको छ ।
१) ऋण लिई ऋण तिर्न भन्दा पनि ऋण घुमाउने प्रवृती बढ्नु ।
२) बहु-सहकारी संस्थामा ऋण लिई सदस्य बेपत्ता हुने ।
३) बहु-सहकारीमा सदस्य भएकोले सदस्य आफ्नो दायित्व बोधमा कमी ।
४ं) सहकारी र सदस्य बीच ग्राहक सम्बन्धको विकास ।
५) नेतृत्व तहमा पनि दोहोरोपन ।
६) सहकारी र सदस्यको संख्यात्मक बृद्धिले गुणस्तरमा ह्रास ल्याउने ।
७) सहकारी-सहकारी बीच अस्वस्थ प्रतिस्पर्धामा बृद्धि ।
माथि उल्लेखित समस्या तथा विकृतीको निराकरणको लागि सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ मा
कुनै व्यक्ति एक स्थानीय तहको एक भन्दा बढी संस्थाको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । यदी ऐन जारी हुनु अघि कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतीको एक भन्दा बढी संस्थामा सदस्य रहेको भए ऐन जारी भएको मितिले तीन बर्ष भित्र कुनै एक संस्थाको मात्र सदस्य कायम गर्नुपर्ने कुरा उल्लेख छ । सोही व्यवस्था कार्यान्वयन गर्न सहकारी नियमावली २०७५ को नियम १७ उप-नियम ३ ले संस्थामा दोहोरो सदस्य रहेको नरहेको सम्बन्धमा संस्थाले आफ्ना सदस्यहरुलाई यो नियमावली प्रारम्भ भएको मितिले तीन महिना
भित्र स्वघोषणा गर्न सूचना दिनुपर्ने व्यवस्था गरेको छ । उप-नियम ४ मा दोहोरो सदस्य भएको हकमा निजले चाहेको संस्थाको सदस्यता कायम राखी अन्य संस्थाको ऐनमा निर्धारित म्यादभित्र त्यस्तो सदस्यको सदस्यता अन्त्य गर्नु पर्ने कुरा उल्लेख छ भन्ने उप-नियम ५ मा दोहोरो सदस्य भएको देखिएमा सदस्यले चाहेको कुनै एक मात्र संस्थाको सदस्यता कायम गरी अन्य संस्थाको सदस्यता खारेज गर्न रजिष्ट्रारले निर्देशन दिन सक्ने सोही निर्देशन बमोजिम सम्बन्धित संस्थाले त्यस्तो सदस्यको सदस्यता समाप्त गर्नुपर्ने व्यवस्था गरिएको छ । यही व्यवस्थाको आधारमा सहकारी विभागका रजिष्ट्रारले सहकारी संस्थाको सदस्यलाई सूचना जारी गरेको छ । सहकारी
ऐन २०७४ कात्र्तिक १ गते जारी भएकोेले कसैले एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै प्रकृतीका एक भन्दा बढी संस्थाहरुको सदस्यता लिनु भएको भए २०७७ असोज मसान्त भित्र आफूले छनोट गरेको कुनै एक मात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरुको सदस्यता अन्त्यका लागि सूचना मार्फत अनुरोध गरिएको छ । सो सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन सहकारी संस्थालाई पनि निर्देशन दिइएकोछ । अन्यथा कानुन बमोजिम कार्वाही गरिने कुरा समेत सूचना मार्फत जानकारी गराइएको छ । सहकारी संस्थामा दाहोरो सदस्यता रहेमा के कस्तो कार्वाही हुने कुरा सहकारी ऐन र नियमावलीमा उल्लेख छैन तर
सहकारी विभागले दोहोरो सदस्यता रहेमा सदस्यलाई दुई लाखसम्म जरिवाना हुन सक्ने समाचारहरु विभिन्न
अनलाइन समाचार मार्फत प्रकाशित भइहरेको छ । एउटा पसलमा धेरै वटा सहकारी संस्थाको पासबुक देखिनुका साथै
सहकारी संस्थामा देखिएका विकृतीहरुको निराकरणको लागि एक व्यक्ति एक सहकारीको प्रावधान ल्याएको सरकारको भनाई छ तर यस व्यवस्थाले सहकारीको मर्मलाई मार्ने पक्का छ । सहकारीको खुल्ला तथा स्वेच्छिक सिद्धान्त अनुसार कुनै पनि व्यक्ति कुनै पनि सहकारीमा सदस्य बन्न र त्याग्न सक्छ । यस सिद्धान्त विपरित एक व्यक्ति एक सहकारीको अवधारण आएको देखिन्छ । विशेष गरी बचत तथा ऋण सहकारी संस्थामा दोहोरो सदस्यता पाइन्छ । समस्या पनि यही क्षेत्रमा बढी देखिन्छ तर दोहोरो सदस्यताका कारणले मात्र बचत तथा ऋण सहकारीमा विकृती देखिएको चाहि पक्कै होइन । सहकारी संस्थामा सदस्य बनी बचत गर्दैमा विकृती हुने होइन । समस्या ऋणमा हो तर यस व्यवस्थाले व्यक्तिले बचत गर्न पाउने
नैसर्गिक अधिकारलाई नै कुण्ठीत गरेको छ । दोहोरो सदस्यताले ऋणको साख सुचनाको अभावमा देखिएको हो । यसको समाधानाको लागि ऐनमै भएको कर्जा सूचना केन्द्रको स्थापना गरी व्यवस्थापन गर्ने उपाय अवलम्बन गरे पुग्ने देखिन्छ । कर्जा सूचना मार्फत संस्थाले सदस्यको क्षमताको आधामा ऋण लगानी भएमा मात्र पनि ऋण लगानीमा जोखिम न्यूनिकरण हुने देखिन्छ ।
सहकारी एक व्यवसाय भएकोले सहकारीमा सदस्य रहने नरहने भन्ने कुरा संस्थाले दिने सेवा सुविधाले निर्धारण गर्ने हो । हरेक सहकारीमा आ आफ्नै सेवा तथा सुविधाहरु हुन्छन् । ती सुविधाहरु सबै एउटै सहकारीबाट प्राप्त र्न सम्भव हुदैंन । जस्तै समुदायमा आधारित सहकारीमा एक महिलाले आफ्नो घरपटीको सहकारी र माइतीपटीको सहकारी दुईवटा सदस्य भइरहेको हुन्छ । उक्त महिलालाई एउटा सहकारी छनोट गर्नु भनेको कतिको जायज हुन्छ । वित्तीयलाई मापन गरेर दोहोरो सदस्यको व्यवस्था लाद्न व्यवहारिक नहोला । सहकारीमा आफ्नो भावनात्मक सम्बन्ध पनि जोडिएको हुन्छ । यहि भावनात्मक सम्बन्धले सामुदायिक सहकारी बलियो हुने हो । तसर्थ, समस्या देखिएको एकतिर र उपचार अर्को तिर गरियो भन्ने समस्या झन बल्झने हुँदा समयमै ऐनको संशोधन गर्नुपर्ने देखिन्छ ।
(लेखकको यो निजी विचार shakarisanjal@gmail.com मा प्राप्त भएको हो ।)
……………………………………

