पछिल्लो पटक निर्धारण भएको सहकारी सन्दर्भ व्याजदर २०७७ कार्तिक १५ गतेबाट पूर्ण रुपमा लागू हुन्छ ; उप-रजिष्टार पौडेल
सहकारी विभागका उप-रजिष्टार सुरेन्द्र पौडेलले सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिले पछिल्लो पटक निर्धारण भएको १४.७५ प्रतिशत सहकारी सन्दर्भ व्याजदर २०७७ कार्तिक १५ गतेदेखि पूर्ण रुपमा लागू गरिने बताउनु भएको छ । आज सहकारी विभागमा सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले सहकारी ऐन र नियमावली आफ्नै गतिमा कार्यान्वयनमा जान्छन् भन्नुभयो । सहकारी विभागले सञ्चालन गरिरहेको कोपोमिसको गुणस्तर बृद्धि गरिएकोले यसमा त्यसतो समस्या छैन , त्यसमा देशभरका ३२ हजार सहकारी संघ/संस्था आवद्ध भएका छन् र चालु आर्थिक वर्ष २०७७/०७८ भित्र बागमती प्रदेश र १ नं. प्रदेश भित्रका सबै सहकारी संघ/ संस्थाको डाटा अपडेट गरी सक्ने योजना छ’ उहाँको भनाई छ । सहकारी विभागका सूचना अधिकारी समेत रहनु भएका उप-रजिष्टार पौडेलले ‘सहकारी विभागले देशभरीका सहकारी संघ/संस्थाका शेयर लगानी , प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी सृजना , बचत संकलन , कर्जा लगानी , महिला सहभागिता लगायतका विवरण संकलन गर्ने कार्य गरिरहेको छ , यस क्रममा कर्णाली प्रदेश भित्र सञ्चालन भइरहेका सबै सहकारी संघ/संस्थाको विवरण कर्णाली प्रदेश र कर्णाली प्रदेश भित्रका सबै पालिकाहरुले उपलब्ध गरी सकेका छन् भने अरु थप विवरण आउने क्रम जारी छ र यसबेलासम्म देशभरीबाट ९० प्रतिशत विवरण प्राप्त भई सकेको छ । सबै विवरण प्राप्त भएपछि त्यसलाई सहकारी विभागको सिस्टममा इन्ट्री , टेवुलेशन र विश्लेषण गरेर प्रकाशन गरिने छ । यसका लागि अलि समय लाग्न सक्छ’ भन्नुभयो ।

