जय भिमसेन साकोस, महापालको अध्यक्षमा जीवनलाल श्रेष्ठ पुन: चयन
ललितपुरको मंगलबजार महापालमा रहेको जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लि.,को १२औँ वार्षिक साधारणसभा २०७६ असोज २७ गतेदेखि ३० गतेसम्म भर्चुअल विधिबाट सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष जीवनलाल श्रेष्ठको अध्यक्षता तथा ललितपुर महानगरपालिका सहकारी शाखाका प्रतिनिधि चिरञ्जीवी पौडेलको उपस्थितिमा उक्त साधारणसभा सम्पन्न भयो । सो संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति पारित गरेको त्यस साधारणसभाले जीवनलाल श्रेष्ठलाई सोही संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा पुन: चयन गरेको छ । त्यस समितिको उपाध्यक्षमा सुरेन्द्र शाही , सचिवमा लक्ष्मण श्रेष्ठ , कोषाध्यक्षमा हसिना शाक्य तथा सदस्यमा नरेन्द्रप्रसाद श्रेष्ठ , पुष्पा शाक्य र केशव शाक्य रहनु भएको छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा अनुप शाक्य तथा सदस्यमा श्री राम महर्जन र शर्मिला शाही चयन हुनु भएको छ । त्यसै साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.६६,३१,५०० , बचत संकलन रु.११,८१,८२,८२,१७६/४२ , ऋण लगानी रु.१४,०८,९८,००८/०१ र १ कुल कारोवार रु. १४,७२,६०,९८१/२७ रहेको उल्लेख छ । सो साधारणसभामा मन्तव्य व्यक्त गर्दै उक्त संस्थाका अध्यक्ष श्रेष्ठले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यस संस्थाका शेयर सदस्यहरुको उपस्थिति विना नै भर्चुअल विधिबाट यो साधारणसभा गर्नु पर्दा खल्लो महसुस भएको छ भन्नुभयो ।

