कोरोना महामारीमा पनि सुयोग्य साकोस , कोटेश्वरले दियो शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश
काठमाडौं महानगरपालिका-३२ , सेतीओपी मार्ग , कोटेश्वरमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.को २०७७ असोज २४ गतेदेखि ३० गतेसम्म सहकारी विभागबाट जारी सूचना अनुरुप १३औं वार्षिक साधारणसभा सम्पन्न भयो । यही असोज ३० गते सो साधारणसभाको समापनको अवशरमा उक्त संस्थाले कार्यक्रम गरेको थियो । सोही संस्थाकी अध्यक्ष चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाको अध्यक्षता र प्रवन्धक खड्गप्रसाद सुब्बाको सञ्चालनमा त्यो कार्यक्रम सम्पन्न भएको थियो ।


साधारणसभामा सो संस्थाकी अध्यक्ष थाम्सुहाङ्गले वार्षिक प्रतिवेदन पेश गर्दै यस संस्थाले कोभिड-१९ महामारीको विषम परिस्थितिमा सदस्यहरुलाई पर्न गएको असर र असुविधालाई मनन गर्दै बन्दाबन्दीको अवधिभर र त्यसपछि संस्थाको कार्यालय पूर्ण रुपमा सुचारु भएको मितिले १५ दिनभित्र ऋणको किस्ता वा भाका पुगेको साँवा र व्याज बुझाएमा सम्पूर्ण हर्जाना छुट र व्याजमा २० प्रतिशत छुट र सो अवधि पछि असार मसान्तसम्म बुझाउनेलाई सम्पूर्ण हर्जाना मिनाहा र व्याजमा ५ प्रतिशत छुट दिने निर्णय गरी बन्दाबन्दीको समय पछि २०७७ असार मसान्तसम्मको समयावधिमा सदस्यहरुलाई जम्मा रु.६ लाख ८५ हजार ७ सय ६२ व्याजमा छुट मिनाहा दिएको बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थामा ६७३ महिला , ५४३ पुरुष र ११ संस्थागत गरी कूल शेयर सदस्य संख्या १,२२७ , शेयर पूजी रु.१,८५,२८,१०० , बचत संकलन रु.१८,६२,५०,९२० , ऋण लगानी रु.१६,७६,५७,२७९ र खुद मुनाफा रु.७६,३१,८२२ रहेको उहाँको भनाई छ ।
कोरोना महामारीका वीचमा पनि सो साधारणसभाले शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश तथा कर्मचारीहरुलाई १ महिनाको तलव बराबरको बोनस प्रदान गर्ने निर्णय गरेको छ भने शेयर सदस्यहरुलाई त्यसै संस्थामा बचत तथा ऋण कारोवार गर्न प्रोत्साहन गर्ने उद्देश्यले स्थापना कालदेखि वितरण गर्दै आएको संरक्षित पूँजी फिर्ता कोषको रकम शेयर सदस्यहरुलाई वितरण गर्ने निर्णय ग-यो । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो ।

