सामूहिक साकोसको २२औं वार्षिक साधारणसभा सम्पन्न, सुशासनलाई कायम राख्दै समुदायमैत्री प्रविधि विकासमा जोड दिनुपर्छ : नेफ्स्कूनका अध्यक्ष पौड्याल

भक्तपुरको भुलाञ्छे(राम मन्दीर) मा रहेको सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.को २२औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको अध्यक्षतामा २०७७ कार्तिक २२ गते सम्पन्न भयो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता तथा महासचिव दामोदर अधिकारीको विशेष आतिथ्यतामा सहकारी विभागको निर्देशन पालना गरी सो साधारणसभा सम्पन्न भएको थियो ।
उक्त साधारणसभाको उद्घाटन गर्दै
प्रमुख अतिथि पौड्यालले सहकारी संस्थाहरुले सुशासनलाई कायम राख्दै समुदायमैत्री प्रविधिको विकासमा जोड दिनु पर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सामूहिक साकोसले गरिरहैको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै विद्यमान चुनौति र कठिनाईको वीच सफलता खोजी गर्नु पर्ने बताउनुभयो ।सोही अवसरमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सामूहिक साकोस सहकारी एकीकरणमा लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । सहकारी एकीकरणको आवश्यकता औंल्याउदै एकीकरणमा जाने सहकारीहरुले एकीकरण गर्नु भन्दा पहिले एउटाले अर्कोको बारेमा राम्रोसँग बुझ्नु पर्ने बताउनुभयो ।
सो सभाका अध्यक्ष राजोपाध्यायले सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.ले समस्या आउदा भागेर नभई एक आपसमा मिलेर समाधान खोज्ने पद्धति अवलम्बन गरी अगाडि बढेकोले कोरोना महामारी जस्ता विषम परिस्थितिमा समेत हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको बताउनुभयो ।
त्यस संस्थाका उपाध्यक्ष राजभाइ भेलेले स्वागत मन्तव्य र सचिव कृष्णहरि सैंजुले सञ्चालन गर्नु भएको सो साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र उप-समितिहरुको प्रतिवेदन छलफल गरी पारित गरेको थियो ।
उक्त सभामा त्यसै संस्थाका संस्थापक अध्यक्ष श्यामप्रसाद मुनकर्मी , सोही संस्थासँग एकीकरण गर्न सहमती जनाएको कल्याण बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष गंगाप्रसाद ख्याजु , सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , उप-समितिहरुका पदाधिकारी तथा सदस्य , सल्लाहकार , कर्मचारी तथा सिमित शेयर सदस्यहरु उपस्थिति रहेको थियो भने त्यस सभाको व्यवस्थापन व्यवस्थापक कविन्द्र धौबञ्जारले गर्नु भएको थियो ।