पद्मावती साकोस , न:बहालले शेयर सदस्यहरुलाई ग-यो लाभांश वितरण

0 Shares

ललितपुरको न:बहालमा रहेको पद्मावती बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई २०७७ कार्तिक १६ गतेदेखि २८ गतेसम्म लाभांश वितरण गरेको जनाएको छ । सो संस्थाका सचिव उत्तमराज शाक्यले यस संस्थाको २०७७ असोज २९ गतेदेखि कार्तिक ७ सम्म साताव्यापी रुपमा सम्पन्न सम्पन्न २७औं वार्षिक साधारणसभाले  शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरे अनुरुप उक्त लाभांश वितरण गरेको सहकारी सञ्जाललाई बताउनुभयो  ।

माथि उल्लेखित मितिमा ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोलको प्रमुख आतिथ्यतामा सहकारी विभागको निर्देशन पालना गरी सो साधारणसभा सम्पन्न भएको थियो । सोही संस्थाका अध्यक्ष नेमवीर शाक्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि डंगोलले यस पद्मावती साकोसको प्रतिवेदनमा उल्लेखित विवरण हेर्दा यो संस्था राम्रोसँग अगाडि बढेको देखियो भन्नुभयो । उहाँले ललितपुर महानगरपालिकाले सहकारीको विकास र प्रवर्द्धन गर्ने गरी कार्य गरिरहेको भन्दै सहकारी संस्था नीति र पद्धति अनुरुप सञ्चालन नभएको पाइएमा कारवाही गर्ने बताउनु भएको थियो । त्यस अवसरमा संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सो साधारणसभाका अध्यक्ष शाक्यले विगतमा जस्तै हामीले स्थानीय समुदारमा आधारित हाम्रो यो संस्था विकास गर्न अत्यावश्यक क्षेत्रहरु लक्षित गरी समय सापेक्ष नीति , विधि र प्रविधि अपनाई संस्थागत विकास गर्न महत्वपूर्ण उपलब्धीहरु हासिल गर्न सकेको तर कोरोनाको असरबाट थप लगानीको वातावरण ठप्प हुनु र ऋणी सदस्यहरुको व्यवसाय मन्दी हुनुले आर्थिक वर्ष २०७६/०७७ तेस्रो त्रैमासिकमा संस्थाको आम्दानीमा प्रत्यक्ष प्रभाव परेको बताउनुभयो ‌। उहाँले आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थाको शेयर पूँजी रु.५,१७,०१,८०० , बचत संकलन रु.२९,०३,०४,३२१/९१ , शेयर सदस्यहरुलाई ऋण लगानी रु.३६,२४,८४,२८२ र कूल सम्पति रु.४४,८९,७१,४७४/८६ छ भन्नुभयो । सोही अवसरमा त्यस संस्थाका कोषाध्यक्ष अनुप शाक्यले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक बाबुराजा महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले छलफल गरी प्रतिवेदनहरु पारित गरेको थियो ।

Leave a Reply