आधारशिला साकोस , टिकाथलीको अध्यक्षमा कपिल के.सी. निर्विरोध चयन
ललितपुरको महालक्ष्मी नगरपालिका-५ , टिकाथलीमा रहेको आधारशिला बचत तथा ऋण सहकारी संस्था लि.को १०औं वार्षिक साधारणसभा २०७७ कार्तिक २१ देखि ३० गतेसम्म सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी सोही संस्थाका सल्लाहकार समिति संयोजक अर्जुनकुमार प्रधानको प्रमुख आतिथ्यता , अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता र सचिव गुरुप्रसाद काफ्लेको सञ्चालनमा सो साधारणसभा सम्पन्न भएको थियो । त्यस साधारणसभाका अध्यक्ष कार्कीले उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै यस संस्थामा ईमान्दार तथा लगनशील कर्मचारी , सबल नेतृत्वदायी तथा जिम्मेवार सञ्चालक र विवेकशील तथा समर्पित सदस्यहरुको यस संस्थामा आबद्धताले नै हाम्रो यो संस्थाले उत्साहजनक रुपमा आफ्नो लक्ष्य र सफलता हासिल गर्न सक्षम भएको छ भन्नुभयो । उहाँले यस संस्थाको पूँजी संरचनालाई मध्यनजर राखी यो संस्थाले आफ्नो भवन निर्माणस गरी कार्यालय सञ्चालन गर्न सक्षम हुने देखिएकोले सञ्चालक समितिबाट निर्णय गरी जग्गा खरीदको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थाको शेयर पूँजी रु.१,७१,६७,७०० , बचत संकलन रु.१८,७९,१९,८३८ , कर्जा लगानी रु.१७,१६,७९,६११ , जगेडा/जोखिम कोष रु.९५,४६,७१० , कुल आम्दानी रु ३,१२,७६,५०९ , कुल खर्च रु.२,५१,९९,२६३ र खुद नाफा रु.६०,७७,२४६ रहेको र आर्थिक वर्ष २०७७/०७८ मा शेयर पूँजी रु.२ करोड , बचत संकलन रु.२१ करोड , कर्जा लगानी रु.२० करोड , जगेडा/जोखिम कोष रु.१ करोड २५, लाख , कुल आम्दानी रु.३ करोड ५० लाख , कुल खर्च रु.२ करोड ८० लाख र खुद नाफा रु.७० लाख पु-याउने लक्ष्य रहेको उहाँको भनाई छ । साधारणसभामा त्यसै संस्थाका कोषाध्यक्ष इन्द्रबहिदुर श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक जीतबहादुर वि.क. ले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । आवश्यक छलफल गरी त्यस साधारणसभाबाट ती प्रतिवेदनहरु पारित भएका थिए ।

सल्लाहकार समिति , सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति तथा उप- समितिहरुका पदाधिकारी तथा सदस्यहरु , कर्मचारीहरु र सिमित शेयर सदस्यहरुको उपस्थितिमा सम्पन्न उक्त साधारणसभाले ४ वर्ष कार्यकाल रहने गरी कपिल के.सी.को अध्यक्षतामा त्यस संस्थाको सञ्चालक समिति र समिर शाहको नेतृत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको थियो । सोही सञ्चालक समितिको उपाध्यक्षमा प्रेमबहादुर कार्की , सचिवमा गुरुप्रसाद काफ्ले र सदस्यमा रामबहादुर खड्का , शिवकुमार थापा र सत्यवती थापा राना तथा कार्यकारी प्रमुखमा इन्द्रबहादुर श्रेष्ठ हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समिति सदस्यमा ज्ञानबहादुर श्रेष्ठ र कृष्णदत्त भट्ट चयन हुनु भएको छ । उक्त सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयनका लागि अधिवक्ता अमित भण्डारी संयोजक तथा अर्जुनकुमार प्रधान र नवराज कार्की सदस्य रहेको निर्वाचन उप-समिति गठन भएको थियो ।

