नेफ्स्कूनको २९औं वार्षिक साधारणसभा सम्पन्न , ४० वटा साकोसलाई प्रोबेशन ब्राण्ड प्रदान

0 Shares

नेपालका बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को २०७७ कार्तिक २३ गतेबाट मंसीर ३ गतेसम्म प्रदेशमा विस्तारित मञ्चको कार्यक्रम सम्पन्न भई शुक्रबार २९औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको थियो । सो अवसरमा प्रमुख अतिथि कँडेलले नेपालको सहकारी अभियानले छोटो अवधिमा उल्लेख्य प्रगति गरेको छ तर यस क्षेत्रमा कमी कमजोरीहरुका साथै समस्याहरु रहेको बताउदै नेपालको संविधान ,२०७२ को स्प्रिट अनुसार नमिलेका , सहकारीको विकास र प्रवर्द्धनमा बाधक सहकारी ऐन तथा नियमावलीका दफाहरु र  ४७ वटा ऐन संशोधनको प्रक्रिया अगाडि बढेको  छ भन्नुभयो । नेफ्स्कूनका भूतपूर्व अध्यक्ष समेत रहनु भएका कँडेलले संघीय सहकारी ऐनसँग नबाझिने गरी प्रदेश ऐन र संघीय सहकारी ऐन तथा प्रदेश सहकारी ऐनसँग नबाझिने गरी स्थानीय ऐन निर्माण तथा संशोधनका लागि राष्ट्रिय सहकारी महासंघ , राष्ट्रिय सहकारी बैंक र नेफ्स्कून लगायतका विषयगत केन्द्रीय संघहरु सहित सिङ्गो सहकारी अभियान क्रियाशील रहेको भन्दै आर्थिक तथा सामाजिक रुपान्तरण तर्फ लक्षित रहेर सहकारीले एक भई उत्पादन र व्यवसायिकरणमा लाग्नु पर्नेमा जोड दिनुभयो । नेपालको सहकारी अभियानमा नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई थियो । सो अवसरमा राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल ‘सुवाष’ लेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेे नेफ्स्कूनले अगाडि सारेको प्रविधि विकासको रणनीतिक योजनाप्रति  ऐक्यबद्धता जाहेर गर्दै संंख्यात्मक रुपमा सहकारीको राम्रो सँग विकास भई सकेकोले अब सहकारीले  गुणात्मकता र व्यवसायिकता तर्फ अघि बढ्नु पर्ने बताउनुभयो ।  सहकारी संस्थाहरुले अरु कम्पनीको रेमिट सेवा चलाई रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले अरु कम्पनीको रेमिट सेवा चलाउनुभन्दा सहकारीले आफ्नै छुट्टै रेमिट सम्बन्धी निकाय बनाएर अघि बढ्नु पर्ने आवश्यकता औँल्याउनुभयो । बचत तथा ऋण सहकारी अभियानमा नेफ्स्कून शीर्ष संघ रहेको र अवको गन्तव्य दीगो, सुशासित र प्रविधिमैत्री साकोस निर्माणमा नेफ्स्कूनले डिजिटल सेभिङ तथा क्रेडिट प्रणाली स्थापना गरी साकोस अभियानलाई सशक्त र सुदृढ बनाउनु पर्ने उहाँको भनाई थियो ।

त्यस अवसरमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले सरकारले घोषणा गरेको दुई वटा थिमहरुको बारेमा चर्चा गर्दै सहुलियतपूर्ण कर्जा र स्टार्ट अफ फण्डको अवधारणा बैंक र सहकारीमार्फत कार्यान्वयन गरेर सरकारको संलग्नता सहित बैंक र सहकारी सँगसँगै समृद्धिको अभियानमा अगाडि बढ्नु पर्ने बताउदै राष्ट्रिय सहकारी महासंंघले सहकारी मार्फत त्यसको कार्यान्वयन गर्ने विषयको माग लिएर सरकार सँग जान सुझाव दिनुभयो । उहाँले साहु महाजनसँग पैसा लिएर चर्को चक्रबर्ती व्याज खेप्नुपर्ने र व्याज बोकेर सधै व्यक्तिको मातहतमा दास बन्नुपर्ने प्रबृत्तिलाई सहकारीले निरुत्साहित गरेको बताउनुभयो  ।

सोही अवसरमा सहकारी विभागका उप-रजिष्टार चोमेन्द्र न्यौपानेले सबै सहकारी संघ/ संस्थाहरु आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्यक्रम बनाएर  नीति र पद्दति अनुरुप सञ्चालन हुनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तैगरी राष्ट्रिय सहकारी महासंघ लि.का उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का नि:बर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी संघ /संस्थाहरुले नीति , विधि र प्रविधिलाई राम्रो सँग अवलम्बन गर्नु पर्नेमा जोड दिनुभयो ।

त्यसै अवसरमा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा श्रण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईले राष्ट्रिय सहकारी बैंक र नेफ्स्कून एक अर्काका प्रतिस्पर्धी नभई सहयोगी हुन् भन्नुभयो ।

स्वास्थ्य मापदण्ड सहित दुईवटा हलमा गरी १९० जनाको भौतिक उपस्थिति तथा २०० जनाको अभौतिक सहभागिता रहेको र ७०० भन्दा बढी सदस्यहरुले  साधारणसभाको वेव एप्लिकेसन्स् मार्फत भौतिक उपस्थिति जनाउनुभएको त्यस साधारणसभामा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पठाउनुभएको शुभकामना मन्तव्य नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बाचन गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का नेपालस्थित निर्देशक रिचर्ड हवार्ड र सहकारी विद नवराज सिम्खडाले समेत शुभकामना मन्तव्य व्यक्त गर्नु भएको त्यस साधारणसभामा नेफ्स्कूनका अध्यक्ष पौड्यालले नेफ्स्कूनले  साकोस अभियानलाई गहन, सम्पन्न, बहुमुखी र समृद्ध बनाउनको लागि  मार्गदर्शन अगाडि सारेको भन्दै हामी एकाउन्टिङ सफ्ट्वैयरमा मात्र सीमित छौं तर अबको युग डिजिटाइजेसनको युग भएकोले साकोस अभियान प्रविधिमार्फत सम्पूर्ण वित्तीय समाधान सहितको अभियान बन्नुपर्ने बताउनुभयो ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सञ्चालन गर्नू भएको उक्त सभामा सोही संघका  वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनद्वारा सातै प्रदेशमा क्रमिक रुपमा सम्पन्न विस्तारित मञ्चका कार्यक्रमहरुमा सहकारीका साथीहरुको उत्साहजनक  सहभागिताले साधारणसभाको सफलता र आगामी कार्य निरन्तरताका लागि हौसला प्राप्त भएको र उहाँहरुको निरन्तरको साथ , सहयोग र रचनात्मक सल्लाह र सुझाव  सहित सामूहिक ऐक्यवद्धताबाट साकोस अभियानको दिगो विकास र नेफ्स्कूनले तय गरेको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि मार्ग प्रशस्त भएको बताउनुभयो ।

त्यसै साधारणसभामा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले नेफ्सूकूनको आर्थिक बर्ष २०७६ ०७७ को  बार्षिक प्रतिवेदन  , कोषाध्यक्ष दीपक पनेरुले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ती प्रतिवेदनहरु छलफल गरी साधारणसभाले पारित गरेको थियो ।

नेफ्स्कूनले २०७७ कार्तिक २३ गते प्रदेश नं १ , कार्तिक २४ गते प्रदेश नं २, कार्तिक २५ गते बागमती प्रदेश, कार्तिक २६ गते गण्डकी प्रदेश, कार्तिक २७ गते लुम्बिनी प्रदेश, मंसिर २ गते कर्णाली प्रदेश र मंसिर ३ गते सुदुर पश्चिम प्रदेशमा विस्तारित मञ्चका कार्यक्रम सम्पन्न गरेको थियो ।

त्यसै साधारणसभामा नेफ्स्कूनको ३३ औं स्थापना दिवसको अवसरमा घोषणा गरिएको उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघमा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ,महिलाहरुद्वारा सञ्चालित  सर्वोत्कृष्ट साकोसमा धादिङ्को निलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था लि.,  बागमती प्रदेश  प्रदेश स्तरीय उत्कृष्ट साकोसमा काभ्रेपलाञ्चोकको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. ,  अध्यक्ष सम्मान प्रतिनिधि सभाका सदस्य एवम् नेफ्स्कूनका पूर्व महासचिव घनश्याम खतिवडा, अग्रज व्यक्तित्व सम्मान महिलातर्फ नेफ्स्कूनका नि:वर्तमान उपाध्यक्ष पावर्ती खाँड राई र पुरुषतर्फ नेफ्स्कूनका पूर्व सञ्चालक श्यामबहादुर श्रेष्ठ, विद्वता सम्मान सहकारी विद् नवराज सिंखडा , राइफाईसन क्रेडिट यूनियन पुरस्कार अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को नेपालस्थित कार्यालय ललितपुर , नेपालको साकोस अभियानको तर्फबाट उत्कृष्ट व्यवस्थापकको पुरस्कार दोलखाको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक ईश्वर न्यौपाने ,  नेफ्स्कून उत्कृष्ट कर्मचारी पुरस्कार सोही संघका अन्तर-लगानी अधिकृत मनोज बुढाथोकी र नेफ्स्कून पत्रकारिता पुरस्कार सहकारी खबर डट कमका सम्पादक काजी श्रेष्ठलाई प्रदान गरिएको थियो भने नेफ्स्कूनको काठमाडौंको चावहिल फिल्ड कार्यालयलाई सम्मानित गरिएको थियो । त्यसैगरी नेफ्स्कूनको ३३ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट घोषित भएका केही सहकारी संघ/ संस्था तथा व्यक्तिहरुलाई भने प्रादेशिक विस्तारित मञ्चको कार्यक्रममा सम्मानित गरिएको बताइएको थियो ।

त्यस्तै गरी त्यस सभामा नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल निम्न ४० वटा साकोसलाई ब्राण्ड प्रदान गरिएको थियो । 

 

………………………………………………………………..

 

Leave a Reply