सन्तानेश्वर नौधारा साकोसले ग-यो गोदामचौरमा सेवाकेन्द्र विस्तार
ललितपुरको गोदावारी नगरपालिका-१३, झरुवारासीमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको सुविधालाई ध्यान दिएर २०७७ कार्तिक २९ गते ललितपुरको गोदामचौरमा सदस्य सेवाकेन्द्र स्थापना गरेको जनाएको छ । योसँगै सो संस्थाको सदस्य सेवाकेन्द्रको संख्या २ पुगेको छ । यस अगाडि ललितपुरकै गोदावारीमा उक्त संस्थाको सदस्य सेवाकेन्द्र स्थापना भैई सञ्चालनमा छ । ललितपुरको झरुवारासीको सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्था लि. र गोदावारीको नौधारा बचत तथा ऋण सहकारी संस्था लि.वीच एकीकरण भएर सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था लि. बनेको थियो । ती दुई संस्था वीचको एकीकरण ललितपुर जिल्लाको सहकारी एकीकरण अभियानको दोस्रो र गोदावारी नगरपालिका भित्रको सहकारी एकीकरण अभियानकै पहिलो कार्य भएको बताइएको छ ।
सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष शशी खड्काले 
२०७७ मंसीर ७ गतेसम्म यस संस्थाको शेयर सदस्य संख्या २,७५२ , शेयर पूँजी रु.३,६०,५९,२०० , निक्षेप संकलन रु.३०,६४,२७,५३६ , ऋण लगानी रु.२३,८४,०६,४९३ र कूल कारोवार रु.३८,३६,६७,४०४ रहेको सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले ललितपुर जिल्लाको गोदावारी नगरपालिका क्षेत्र भित्र कार्यक्षेत्र भएको हाम्रो यस संस्थाले कृषि समूह बनाएर त्यही समूह मार्फत तरकारी खेती , बाख्रापालन सहित पशुपालन कार्यक्रम अगाडि बढाएको छ र यस मध्येको एउटा सन्तानेश्वर कृषक समूहको यही मंसीर १३ गते कृषि सम्बन्धी तालिम हुदैछ भन्नुभयो । हाम्रो यो संस्था नेफ्स्कूनका प्रोबेशन ब्राण्डमा सहभागी भएको छ र यसले सन्दर्भ व्याजदरको कार्यान्वयन गर्ने देखि लिएर नीति , ऐन र नियम तथा सरकारका निर्देशन पालना गरिरहेको उहाँको भनाई छ । तपाईहरुको यो संस्थाले अरु कुनै सहकारी संस्थासँग एकीकरणको पहल पनि गरिरहेको छ कि भन्ने सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीको जिज्ञासाको जवाफमा उहाँले गोदावारी नगरपालिकाको सहकारी ऐन निर्माणमा संयोजनकारी भूमिका निर्वाह गरेको यस संस्थाले अरु सहकारी संस्थाहरुसँग एकीकरणका लागि पहल गरिहेको छ भन्नुभयो । यस संस्थाको कुनै शेयर सदस्यको मृत्यु भएमा निजको परिवारलाई समवेदना सहित रु.१०,००० सहयोग स्वरुप उपलव्ध गराउने तथा महिला शेयर सदस्य सुत्केरी भएमा उहाँलाई राहत स्वरुप १,००५ उपलब्ध गराउने गरेको भन्दै यस संस्थाले मा.वि. तहका ४ जना जेहेन्दार विद्यार्थीलाई अध्ययनका लागि रु.५,००० का दरले छात्रबृत्ति प्रदान गरेको बताउनुभयो । कोरोना महामारीका कारण राज्यले गरेको लकडाउन तथा निशेधाज्ञाको समयमा गोदावारी नगरपालिकाको अनुमती लिएर सुरक्षित तवरबाट हामीले यो संस्था सञ्चालन गरी आफ्ना सदस्यहरुलाई सेवा प्रवाह ग-यौं र लकडाउनको समयमा यस संस्थाले आफू समेत सदस्य रहेको गोदावारी क्षेत्रीय सहकारी सञ्जालको एम्बुलेन्स सेवा सञ्चालनको लागि रु.५,००० सहयोग गरेको थियो , जुन एम्बुलेन्सले लकडाउन भएको चैत , बैशाख र जेष्ठ महिना भर नि:शुल्क विरामी बोकेको थियो’ उहाँको भनाई छ । कतिपय कृषि सहकारी संस्थाहरु आफ्नो उद्देश्य विपरीत जग्गा प्लटिङ्गको कार्यमा लागेका छन् भन्ने गुनासो यदाकदा सुनिन्छ नि भन्ने सहकारी सञ्जालका प्रधान सम्पादक कार्कीको प्रश्नको जवाफमा उहाँले राज्यका नियमनकारी निकाय र सहकारीहरुको सम्बन्धित छाता संघले कुनै पनि सहकारी संस्था जुन उद्देश्यले स्थापना भएको हो , उसलाई सोही अनुरुपका कार्यमा लगाउनु जरुरी छ भन्नुभयो ।

उक्त संस्थाको २०७७ असोज २३ गतेदेखि २७ गतेसम्म सोही संस्थाकी अध्यक्ष शशी खड्काको अध्यक्षतामा १४औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न त्यस साधारणसभामा सो संस्थाकी अध्यक्ष खड्काले सोही संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै ‘समुदायमा आधारित यस संस्थाका शेयर सदस्यहरुको सहयोग र कर्मचारीहरुको महत्वपूर्ण योगदानका कारण कोरोना महामारीको प्रतिकुल अवस्थामा पनि हाम्रो यो संस्था राम्रो सँगु अगाडि बढिरहेको छ’ भन्नुभयो । उक्त सभामा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक विन्दु खड्काले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष आशाकुमारी अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले छलफल गरी ती प्रतिवेदनहरु पारित गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थाको शेयर सदस्य संख्या २,६१६ , शेयर पूँजी रु.३,३२,१५,९०० , बचत संकलन रु.३१,१५,४९, ७३३ , ऋण लगानी रु २२,७८,१०,९०६/३६ र कुल कारोवार रु.३८,४५,६०,८६२ रहेको साधारणसभाले पारित गरेको प्रतिवेदनमा उल्लेख छ ।

