श्री तिलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.को २१औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

ललितपुरको गोदावारी नगरपालिका-१०  प्याङ्गगाउँमा आफ्नै सुविधा सम्पन्न भवनमा मुख्य कार्यालय र  चापागाउँमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको श्री तिलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.को २१औं वार्षिक साधारणसभा २०७७ कार्तिक २० गते सोही संस्थाका अध्यक्ष नरेन्द्र देशारको अध्यक्षता , गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यता र त्यसै नगरपालिकाका सहकारी शाखा प्रमुख निलकण्ठ घिमिरेको विशेष आतिथ्यतामा सम्पन्न भयो । सहकारी विभागको निर्देशन अनुसार सम्पन्न सो साधारणसभामा प्रमुख अतिथि महर्जनले राष्ट्रिय अर्थतन्त्रको एउटा खम्बाको रुपमा स्थापित सहकारी क्षेत्रको विकास र प्रवर्द्धनको लागि गोदावारी नगरपालिका लागिरहेको छ भन्नुभयो । उहाँले आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री तिलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.ले गरिरहेको प्रगति र यसले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन गरिरहेको प्रयास प्रशंसनीय रहेको भन्दै यसले आफूलाई उत्पादनशील कार्यमा लगाउनु पर्ने बताउनुभयो । सो साधारणसभाका अध्यक्ष देशारले उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै अर्थनीतिको महत्वपूर्ण पाटो सहकारी क्षेत्रमा आफ्नो शसक्त उपस्थिति जनाई रहेको यस संस्थाको यो उचाईको श्रेय यसै संस्थाका शेयर सदस्य महानुभाव र कर्मचारीहरुमा जान्छ भन्दै हाम्रो यो संस्थाको कारोवारलाई व्यवस्थित र भरपर्दो बनाउने क्रममा पारदर्शी र सामुहिक निर्णयलाई हामीले हाम्रो मार्गदर्शक सिद्धान्त मानेर अगाडि बढेकाले यो संस्थाको हालसम्मको प्रगति सम्भव भएको बताउनुभयो । उहाँले यस संस्थाले आफ्ना सदस्य महानुभावहरुको सुविधालाई  प्रमुख प्राथमिकतामा राख्दै बचतमा उच्चतम विश्वास सहित अधिकतम प्रतिफल दिने र सो बचतलाई सदस्यहरुकै सामाजिक र आर्थिक हिसावले जीवनस्तर उठाउन सहयोग पु-याउने उद्देश्य सहित सुलभ व्याजदरमा ऋण लगानी गर्ने क्रममा सेवामा बिभिधिकरण गर्दै कारोवारमा बृद्धि गर्दै लगेको छ भन्नुभयो । यस संस्थाको  उद्देश्य अनुरुपको बहुउद्देश्यीय कार्य गर्ने बारे योजनाको प्रक्रियागत कार्य भइरहेको उहाँको भनाई थियो ।

त्यस साधारणसभाले सो संस्थाको वार्षिक , आर्थिक र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा उक्त संस्थाको शेयर पूँजी रु.२,४१,०१,३०० , निक्षेप संकलन रु.६०,०९,५८,९८८/७५ र कर्जा लगानी रु.६२,८८,८५,६४१/४२ रहेको साधारणसभाबाट पारित प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply