अग्रज महिला साकोस, पिखेल , भक्तपुरद्वारा १३ प्रतिशत लाभांश प्रदान


भक्तपुरको चाँगुनारायण नघरपालिका-५, पिखेलमा मुख्य कार्यालय तथा सोही वडा भित्रकै कुनौटोमा एउटा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना महामारीको विषम परिस्थितिमा पनि आर्थिक वर्ष २०७६/०७७ मा प्राप्त गरेको नाफाको आधारमा आफ्ना शेयर सदस्यहरुलाई १३ प्रतिशत लाभांश प्रदान गर्न सकेको सोही संस्थाकी अध्यक्ष सन्तोषी खतिवडा कार्कीले बताउनु भएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले स्थानीय समुदायमा आधारित तथा चाँगुनारायण नगरपालिका भित्र कार्यक्षेत्र रहेको हाम्रो यस अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लि. आफ्नो कार्यक्षेत्र विस्तार गर्ने , महिला लक्षित कार्यक्रम सञ्चालन गर्ने , विप्रेषण सेवा थप गर्ने ,सहकारी शिक्षा शिशीर सञ्चालन गर्ने सदस्यता विस्तार गर्ने , स्वास्थ शिशीर सञ्चालन गर्ने , रक्तदान गर्ने आदि कार्यक्रम सञ्चालन गर्ने योजनाका साथ अगाडि बढिरहेको छ भन्नुभयो । २०७७ मंसीर ११ गतेसम्म यस संस्थामा शेयर पूँजी रु.७६,१६,७०० , निक्षेप संकलन रु.४,१७,६०,५६९ , ऋण लगानी रु ४,६४,४८,४९३ र कूल कारोवार रु ६,१७,६६,००५/७३ रहेको उहाँको भनाई छ ।

सहकारी विभागको निर्देशन पालना गरी २०७७ कार्तिक २२ गते उक्त संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भयो । सो संस्थाकी अध्यक्ष सन्तोषी खतिवडा कार्कीको अध्यक्षतामा सम्पन्न त्यस साधारणसभामा सोही संस्थाकी सचिव रेनु कार्कीले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष जमुना थापाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति समिति संयोजक सुस्मिता कार्कीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले ती प्रतिवेदनहरु छलफल गरी पारित गरेको थियो । त्यसै साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा शेयर सदस्य संख्या १,५८६ , शेयर पूँजी रु.५३,७१,८०० , निक्षेप संकलन रु.४,०७,००१२५ , ऋण लगानी रु.३,९४,११,२५३ र खुद नाफा रु.८,३१,८७५/५७, रहेको उल्लेख छ ।

