आर्थिक वर्ष २०७७/०७८ समावेशी बहुउद्देश्यीय सहकारी संस्था लि.को शेयर पूँजी रु.२ करोड पु-याउने लक्ष्य
ललितपुरको गोदावारी नगरपालिका-१२, ठेचोमा रहेको समावेशी बहुउद्देश्यीय सहकारी संस्था लि.ले सदस्यता र शेयर पूँजी बृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ । सो संस्थाका अध्यक्ष न्हुच्छेबहादुर महर्जनले आर्थिक वर्ष २०७७/०७८ मा यस समावेशी बहुउद्देश्यीय सहकारी संस्था लि.को शेयर पूँजी रु.२ करोड पु-याउने लक्ष्यका साथ कार्य भइरहेको बताउनु भएको छ । उहाँले यस संस्थाले आफ्नो उद्देश्य अनुरुपको परियोजना सञ्चालनका लागि योजना निर्माण गर्ने नीति लिएको बताउदै आफ्ना शेयर सदस्यहरुको कार्य दक्षता बृद्धि गरी उद्यमशीलताको विकासका लागि आयमूलक र सीपमूलक तालिम तथा कार्य दक्षता अभिबृद्धि गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने नीति लिएको छ भन्नुभयो ।
उक्त संस्थाको २०७७ कार्तिक २६ देखि २८ गतेसम्म १२औं वार्षिक साधारणसभा सो संस्थाका अध्यक्ष न्हुच्छेबहादुर महर्जनको अध्यक्षतामा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न त्यस साधारणसभामा सोही संस्थाका अध्यक्ष महर्जनले वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक जयगोविन्द महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाबाट छलफल गरी ती प्रतिवेदन पारित भएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थामा शेयर पूँजी रु.१,५२,४१,८०० , बचत निक्षेप रु.१०,०१,२१,३३९/६२ , कर्जा प्रवाह रु.११,४०,८८,७०७ , कर्जा असुली रु.९,१४,१९,७४८ र कूल कारोवार रु.१४,४८,८४,३२८/५३ रहेको सोही प्रतिवेदन उल्लेख छ ।

