भद्रावती साकोस , कोटेश्वरको ११औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं महानगरपालिका-३२ , सहयोगीनगर- कोटेश्वरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभासभा २०७७ मंसीर ६ गते उक्त संस्थाका अध्यक्ष जयबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी भर्चुअल विधिबाट सम्पन्न त्यस साधारणसभामा सोही संस्थाका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन पेश गर्दै हाम्रो यस संस्थाका शेयर सदस्यहरुको सहयोग र कर्मचारीहरुको लगनशीलताका कारण यो संस्था कोरोना महामारीको भयाबह अवस्थामा पनि प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले साना प्रकारका उद्यमशील ऋणीलाई प्राथमिकता दिई सुरक्षित लगानीको बाटो अवलम्वन गरिनेछ भन्दै सामूहिक जमानी ऋणको सीमा बढीमा रु.५,००,००० र समायावधि बढीमा २ वर्ष कायम गरिनेछ तर सहुलियत ऋणको हकमा शेयर र अनिवार्य बचत जोडेर आउने कूल रकमको ९० प्रतिशतसम्म प्रदान गर्न बाधा पर्ने छैन भन्नुभयो । यस संस्थाका शेयर सदस्यहरुसँग समन्वय गरी कोभिड-१९ को चुनौतिहरुलाई सामना गर्न तपाईको साथमा हामी छौं भन्ने सन्देश प्रवाह गरी सुख , दु:खको साथी भद्रावती भन्नेे नारालाई सार्थक बनाउन सदस्यहरुको वीचमा परामर्शदाताको रूपमा काम गरिनेछ र सदस्यहरुको खस्किएको व्यवसायलाई माथि उठाउन हाल लगानीमा रहेको रकममा २० प्रतिशत रकम थप गर्न सकिने नीति अवलम्वन गरिने उहाँको भनाई थियो । आर्थिक वर्ष ३०७६/०७७ मा यस संस्थामा शेयर पूँजी रु.१,९८,६१,४०० , बचत संकलन रु.११,२७,१६,२३२/१७ , कर्जा लगानी रु.११,८५,२९,६२१//२१ र कूल कारोवार रु.१६,७३,६५,४६१ रहेको उहाँको कथन थियो ।

सोअवसरमा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक गणेशबहादुर ठकुरी(शाही) ले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष नरबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाबाट ती प्रतिवेदनहरु छलफल गरी पारित भएका थिए ।
नेफस्कून प्रोबेशन कार्यक्रममा सहभागी भइरहेको सो संस्थाले आफ्नो भवन निर्माण गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका -३२ , कोटेश्वर- जडिबुटीमा जग्गा खरीद गरेको सोही संस्थाका कार्यकारी प्रमुख पदमबहादुर श्रेष्ठको भनाई छ ।
