थोपा थोपा साकोस , नयाँबानैश्वरको चालु आ.व. मा शेयर पूँजी रु.१ करोड ५० लाख पु-याउने लक्ष्य
काठमाडौं महानगरपालिका-३१, नयाँबानेश्वरमा रहेको थोपा थोपा बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्य र शेयर पूँजी गर्ने यौजानाका साथ अगाडि बढिरहेको जनाएको छ । सो संस्थाका व्यवस्थापक इन्द्रप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७७/०७८ मा यस संस्थाको शेयर सदस्य संख्या ७५० र शेयर रकम रु.१ करोड ५० लाख पु-याउने लक्ष्य लिइएको बताउनुभयो ।
उक्त संस्थाको १२औं वार्षिक साधारणसभा २०७७ कार्तिक २२ गते जिल्ला सहकारी संघ लि.,काठमाडौंका वरिष्ठ उपाध्यक्ष खेमराज सुवेदीको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष गोविन्दप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न साधारणसभामा सोही संस्थाका अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक भीमप्रसाद लम्सालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष उपेन्द्र प्याकुरेलले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । ती प्रतिवेदनहरु साधारणसभाले छलफल गरी पारित गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा त्यस संस्थाको शेयर सदस्य संख्या ६४८ , शेयर पूँजी रु.१,३२,७९,८०० , बचत संकलन रु.२,९५,११,०८२ र कुल लगानी रु.४,६१,५२,५४५ साधारणसभाबाट पारित प्रतिवेदनमा उल्लेख छ ।
सोही साधारणसभाले भीमप्रसाद लम्सालको अध्यक्षतामा सञ्चालक समिति र गोविन्दप्रसाद भट्टराईको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा धान्यमणि नेपाल ,सचिवमा उपेन्द्र प्याकुरेल र कोषाध्यक्षमा विश्वनाथ सुवेदी तथा सदस्यमा कृष्णप्रसाद सापकोटा , रेश्मा क्षेत्री ,र सावित्री चौलागाई एवं लेखा सुपरीवेक्षण समितिकौ सदस्यमा निरञ्जनराज पाण्डे र धनपति तिवारी हुनुहुन्छ । उक्त निर्वाचनको लागि जिल्ला सहकारी संघ लि., काठमाडौंका वरिष्ठ उपाध्यक्ष खेमराज सुवेदीको संयोजकत्वमा काठमाडौं महानगरपालिका वडा नं.३१ का वडा सदस्य रमेश सत्याल र अधिवक्ता खेमराज पोखरेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
