सिवाईसी साकोस , बागलुङको ११औं वार्षिक साधारणसभा सम्पन्न , आ.व. २०७६/०७७ मा संस्थाको शेयर सदस्य संख्या १२,६०५ ,
सहकारी विभागको निर्देशन पालना गरी सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि., बागलुङको ११ औं वार्षिक साधारणसभा २०७७ मंसीर २५ गते ११ वटा कार्यालय अन्तर्गतका विस्तारित मञ्चमा सदस्यहरु सँग छलफल गरी सम्पन्न भएको छ । सो संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाको राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल ‘सुबाष’ ले शुभकामना मन्तव्य व्यक्त गर्दै मुलुकको राष्ट्रिय अर्थतन्त्रको ३ वटा खम्बा मध्ये एक सहकारी क्षेत्रमा डिजिटल माध्यमवाट कारोवार गर्नु पर्ने खाँचो औंल्याउदै बैंकमा झैं सहकारी क्षेत्रमा पनि विद्युतीय माध्यमबाट अन्तर-सहकारी कारोवार आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै अगाडि बढेको सिवाईसी साकोसले स्थापना भएको छोटो समयमा उल्लेखनीय प्रगति गरेको देख्दा खुशी लागेको छ भन्नुभयो ।
त्यसैगरी नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमैत्री भएर सहकारी सञ्चालन हुनु पर्नेमा जोड दिदै स्थानीय तहसँग समन्वय गरेर सहकारीले उद्यमशीलता विकास र रोजगारी सृजना गर्नु आवश्यक रहेको बताउनुभयो । त्यसै साधारणसभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष पौडेलले हाम्रो यस संस्थाका शेयर सदस्य ज्यूहरुको सहयोग र कर्मचारीहरुको लगनशीलताका कारण कोरोना महामारीमा समेत यो संस्था प्रगतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो । उहाँले यसबेलासम्म २८ वटा सहकारी संस्था सँग एकीकरण गरी अगाडि बढिरहेको हाम्रो यस संस्थाले थप ७ वटा सहकारी संस्थासँग एकीकरणको लागि छलफल गरिरहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति , बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, बागलुङकै जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल, जिल्ला सहकारी संघ लि., बागलुङका अध्यक्ष दीपक गौतम, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, सोही संस्थाको गलकोट सदस्य सेवाकेन्द्रका सञ्चालक समितिका संयोजक रामवहादुर खत्री लगायतले उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभएको त्यस साधारणसभाले सो संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरेको थियो । मुख्य कार्यालयका अतिरिक्त १० वटा सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको सो संस्थामा आर्थिक वर्ष २०७६/०७७ मा शेयर सदस्य संख्या १२,६०५ , शेयर पूँजी रु. २२, ७६ ,००,०००, निक्षेप रु.१,३२, ४८,३२,००० , ऋण लगानी रु. ९४,३३, ८२,००० र कूल सम्पति रु. १,७६,३९,७१,००० रहेको त्यसै साधारणसभाबाट पारित प्रतिवेदनमा उल्लेख छ ।
उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले संयोजन गर्नु भएको साधारणसभामा त्यसै संस्थाको बरेङ सदस्य सेवाकेन्द्र , बाटाकाचौरका प्रमुख उषा किसानलाई उत्कृष्ठ कर्मचारी र उद्यमशील सदस्य सेवा केन्द्र, विहुलाई उत्कृष्ट सदस्य सेवाकेन्द्रको रुपमा र सहकारी प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै बागलुङको बरेङ गाउँपालिकालाई सम्मानित गरिएको थियो भने त्यसै संस्थाका उत्कृष्ट वाल बचतकर्ता, उत्कृष्ट बचतकर्ता सदस्य र असल ऋणी सदस्य गरी ४४ जना सदस्यलाई सम्मान गरिएको थियो । त्यस अवसरमा ८० वर्ष पुगेका सोही संस्थाका ३२ जना जेष्ठ सदस्यलाई जनही रु.५,००० प्रदान गरिएको थियो ।
सो संस्थाले ७० वर्ष पुगेका शेयर सदस्यलाई मासिक रु.१,००० का पेन्सन प्रदान गर्दै आएको बताइएको छ ।
