अमरदास श्रेष्ठ श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.को पुन: अध्यक्ष चयन

0 Shares

ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.को २१औ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा २०७७ मंसीर ११ देखि २६ गतेसम्म सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न उक्त साधारणसभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष श्रेष्ठले हाम्रो यस श्री लालीगुराँस बहुउद्देश्युय सहकारी संस्था लि.ले आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्दै नेपालको समग्र सहकारी क्षेत्रम चुक्ता पूँजी , निक्षेप संकलन , कर्जा लगाानी , मुनाफा आर्जन , कूल कारोवार , रोजगारी सिर्जना , नेपाल सरकारलाई राजश्वमा गरेको योगदान आदिमा अग्रणी स्थान लिन सफल भएको बताउनुभयो ।

बहुउद्देश्यीय लगानी तथा सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको ताल्छिखेलमा लालीगुराँस अस्पताल , काठमाडौंको शंखमुलमा श्री लालीगुराँस उच्च मा.वि./कलेज, चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म तथा गाई फार्म एण्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लगायतमा लगानी गरेको उक्त संस्थाको सो साधारणसभामा त्यसै संस्थाका सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ‘कोरोना भाइरस महामारीले सहकारी क्षेत्रमा परेको अशर र त्यसले भविष्यमा पर्न सक्ने प्रभावको विषयमा सरकारले विशेष ध्यान दिनु आवश्यक रहेको बताउदै सहकारीले बचत र ऋण मार्फत उत्पादन कार्य गर्न अनुकूल हुने गरी  सहकारी ऐन , २०७४ को संशोधन र सहकारी मैत्री ऐन निर्माण अपरिहार्य  छ’ भन्नुभयो । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष समेत रहेका भण्डारीले देशभरका करिव ३५ हजार सहकारी संघ /संस्थाहरुको रु.८ खर्ब भन्दा बढी बचत परिचालन र सोही बराबरको ऋण प्रवाह , रु.१ खर्ब भन्दा बढी शेयर पूँजी रहेको र सहकारी क्षेत्रमा ३ लाख भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेको भन्दै सहकारी क्षेत्रको पूँजीलाई  कृषि , पशुपालन, पर्यटन , उर्जा लगायतका मझौला तथा ठूला परियोजनामा लगानी गर्ने वातावरण बनाउनु पर्ने खाँँचो औंल्याउनुभयो । उहाँले ‘देशभर सञ्चालनमा रहेका झण्डै ३५ हजार सहकारीहरु मध्ये यस संस्थाले उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल रहेको बताउदै कोरोना महामारीका बाबजुद पनि यसले लगानी गरेको परियोजनामा सफलता हासिल भएको छ’ भन्नुभयो ।

सो संस्थाको मुख्य कार्यालय र सुविधा काउण्टरहरुमा भर्चुअल माध्यमबाट सम्पन्न त्यस साधारणसभाले ४ वर्षे कार्यकाल रहने गरी पुन:अमरदास श्रेष्ठको अध्यक्षतामा सञ्चालक समिति निर्विरोध चयन गरेको छ । उक्त सञ्चालक समितिको उपाध्क्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी र कोषाध्यक्षमा अमृतकुमार अर्याल तथा सदस्यमा भोला कुमार श्रेष्ठ , कदम जोशी प्रधान,  र आर्या सिंह भण्डारी हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा पुण्यप्रसाद पोखरेल तथा सदस्यमा विद्यादेवी पाण्डे र तिमिला रञ्जित चयन हुनुभएको छ । सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यले हिजै पदभार ग्रहण गरेको त्यस संस्थाले जनाएको छ ।

उक्त साधारणसभामा सो संस्थाका १७ जना जेष्ठ शेयर सदस्य तथा सोही संस्थामा ५ बर्ष सेवा गरेका कर्मचारीहरु मध्ये सविना विष्ट सहित ५ जना उत्कृष्ठ कर्मचारीलाई नगद सहित सम्मान गरिएको थियो । २२ हजार शेयर सदस्य रहेको सो संस्थाको त्यस साधारणसभाले शेयर सदस्यहरुलाई १२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो  ।

उक्त संस्थाले निकट भविष्यमा काठमाडौको महाराजगञ्ज र नयाँ बजार , ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, भक्तपुरको सूर्यविनायक , गोरखाको सिरानचोक , मकवानपुरको हेटौंडा र कास्कीको पोखरामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।

Leave a Reply