ज्योति मिर्मिरे सामूहिक साकोस, पनौतीको अध्यक्षमा पुन: उद्धव सापकोटा

0 Shares

काभ्रेपलाञ्चोकको पनौतीमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. र पनौती नगरपालिका-११ , बल्थलीमा रहेको जन्म ज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को एकीकृत संयुक्त साधारणसभा २०७७ मंसीर २० गते सम्पन्न भयो । सो सस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता एवं सोही महासंघका सञ्चालक  तथा नेफस्कूनका नि:वर्तमान अध्यक्ष डी.बी. बस्नेतको विशेष आतिथ्यतामा सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न भयो ।

साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि कँडेलले नेपालको अर्थतन्त्रमा सहकारीले महत्वपूर्ण योगदान गरिरहेको बताउदै अब सहकारीले उत्पादन , सदस्यलाई आत्मनिर्भर र सम्वृद्ध गर्दै गरिवी निवारण गर्ने  विषयमा केन्द्रित हुन पर्ने आवश्यकता औंल्याउनुभयो । २०६९ मा ४ वटा सहकारी संस्थाहरु एकीकरण भई ज्योति मिर्मिरे सामूहिक साकोस बनेसँगै सहकारी एकीकरण अभियान सुरुवात भएको र यसले नेपालको सहकारी एकीकरणको नमूना कार्यविधि बनाएको भन्दै खुसी व्यक्त गर्नुभयो । यो संस्था र पनौती न. पा. -११ मा रहेको जन्म ज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.वीच एकीकरण भई संयुक्त साधारणसभा आयोजना गरिएकोमा प्रशन्नता व्यक्त गर्दै ज्योति मिर्मिरे सामूहिक साकोस नेफस्कूनद्धारा बागमती प्रदेश स्तरीय उत्कृष्ट साकोस घोषणा भएकोमा बधाई दिदै यसले आगामी दिनमा नेपालको सहकारीको अभियानको नेतृत्व गर्न सकोस भनी शुभ-कामना  दिनुभयो । प्रमुख अतिथि कँडेलले सो संस्थाका अध्यक्ष उद्धव सापकोटा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को अध्यक्षमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरी विशेष अतिथि बस्नेतले ज्योति मिर्मिरे सामूहिक साकोसले समाजको सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानका कारण स्थानीय समुदायको विश्वास जितेको र आगामी दिनमा पनि यसले अझै उर्जाशील भएर गुणस्तरीय सेवा प्रवाह गरी अगाडि बढ्न  सुझाव दिनुभयो ।  यस्तै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद अधिकारी लगायतले त्यस साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

सोही साधारणसभाको अध्यक्षता गर्दै उक्त संस्थाका अध्यक्ष सापकोटाले यी दुई सहकारी संस्था वीच एकीकरण गरी संयुक्त साधारणसभा आयोजना गर्न पाउदा खुशी लागेको बताउदै हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप अगाडि बढिरहेको बताउनुभयो । उहाँले दिगो र उत्कृष्ट वित्तीय सहकारी संस्थाको परिकल्पनाका साथ समुदायमा आधारित भई काभ्रेपलाञ्चोकको बनेपा , पनौती , धुलिखेल र पाँचखाल नगरपालिका तथा बेथानचोक गाउँपालिकामा यस ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को कार्यक्षेत्र रहेको छ भन्नुभयो ‌। सोही संस्थाका कोषाध्यक्ष पूर्णतामा तुलाधरले यस संस्थाको  ०७७ आषाढ मसान्त सम्म शेयर सदस्य संख्या १०,३३८ , ९७० वाल बचतकर्ता र  कूल पूँजी रु. ७५ करोड रहेको बताउनुभयो ‌।

त्यसै संस्थाका सचिव दीपकप्रसाद दाहालले सञ्चालन गर्नु भएको उक्त सभामा सहकारीमा विशेष योगदान गर्ने व्यक्तित्वलाई प्रदान गर्ने उद्देश्यले स्थापित जे. एम. एस. सहकारी अवार्ड -२०७६ बाट राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक तथा नेफ्स्कूनका नि:वर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यकारणी सदस्य डी.बी. बस्नेतलाई सम्मान गरियो । यसैगरी संस्थामा आबद्ध सदस्यहरु मध्ये विशिष्ट स्थानमा पुग्न सफल सदस्यलाई प्रदान गर्ने गरी स्थापित विशिष्ट सदस्य अवार्ड- २०७६ बाट संस्थाका सदस्य एवं पनौती नगरपालिका उप-प्रमुख गीता बञ्जारा र बनेपा नगरपलिकाका उप -प्रमुख रेखा सापकोटा दाहाललाई सम्मान गरिएको थियो । त्यस्तै सोही संस्थाकी उत्कृष्ट कर्मचारी सुनिता हुमागाई तिमल्सिनाका साथै उत्कृष्ट बचतकर्ता , ऋणी , वाल बचतकर्ता सहित ३९ जनालाई सम्मान गरिएको थियो ।

सोही साधारणसभाबाट ४ वर्षे कार्यकालका रहने गरी पुन: उद्धव सापकोटाको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति तथा भिमसेन के सी को संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन भएको थियो ।

Leave a Reply