गुर्जुधारा साकोस, गुर्जुधाराको ११औं वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा राजकुमार महर्जन चयन

काठमाडौंको चन्द्रागिरी नगरपालिकाको गुर्जुधारामा रहेको गुर्जुधारा बचत तथा ऋण सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभा २०७७ मंसीर २० देखि २७ गतेसम्म सम्पन्न भयो । चन्द्रागिरी नगरपालिकाको वडा नं.५ , ८ ,९ ,१० र १२ मा कार्यक्षेत्र रहेको सो संस्थाको उक्त साधारणसभा राजकुमार महर्जनको अध्यक्षतामा सञ्चालक समिति र दशमाया महर्जनको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरी सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने सोही सञ्चालक समितिको उपाध्यक्षमा विना महर्जन , सचिवमा सुमन महर्जन र कोषाध्यक्षमा राजेन्द्र महर्जन तथा सदस्यमा धनबहादुर महर्जन , हरिगोविन्द महर्जन र रविन्द्र नेपाली एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा आमिर महर्जन र किशोर महर्जन हुनुहुन्छ ।
नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरुको प्रमुख आतिथ्यतामा सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न त्यस साधारणसभाले सोही संस्थाको वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र आर्थिक प्रतिवेदन छलफल गरी पारित गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा त्यस संस्थामा शेयर सदस्य संख्या २,२०० , शेयर पूँजी रु.९४,३०,००० , निक्षेप संकलन रु.१२,००,००,००० र सोही अनुपातमा कर्जा लगानी रहेको साधारणसभाले पारित गरेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त साधारणसभामा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पनेरुले सहकारी संस्थाहरुले सहकारी सिद्धान्त , नीति , विधि र प्रविधिलाई आत्मसात गरी शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने बताउनुभयो । उहाँले यस गुर्जुधारा साकोसको प्रतिवेदनमा उल्लेखित सुचाङ्क हेर्दा यो संस्था राम्रोसँग अगाडि बढेको देखियो भन्नुभयो ।
त्यस सभामा सोही संस्थाका नवनिर्वाचित अध्यक्ष महर्जनले यस संस्थाको आफ्नो नेतृत्वको सञ्चालक समितिले शेयर सदस्यहरुको मर्म र भावना अनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै हाम्रो यस संस्थाले चन्द्रागिरी नगरपालिकाभरी आफ्नो कार्यक्षेत्र बढाउन पहल गर्ने , शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गर्ने र आफ्नो कार्यक्षेत्र भित्र सञ्चालन भइरहेका उस्तै प्रकृतिका सहकारी संस्थाहरु सँग एकीकरणको लागि पहल गर्ने बताउनुभयो ।