राष्ट्रिय सहकारी बैंक लि.ले वितरण गरेको १५ प्रतिशत लाभांश सदस्य संघ/ संस्थाको खातामा जम्मा
राष्ट्रिय सहकारी बैंक लिमिटेडले २०७७ मंसीर २३ देखि २९ गतेसम्म प्रदेश स्तरीय ईकाई बैंक गरी ती ईकाई प्रतिनिधिहरुको उपस्थितिमा २०७७ पुस ३ गते १७औं वार्षिक साधारणसभा सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न गरेको छ । सोही बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षतामा सम्पन्न साधारणसभाले सदस्य संघ/संस्थाहरुलाई १५ प्रतिशत लाभांश प्रदान गरेको छ । सो लाभांश सदस्य संघ/संस्थाहरुको खातामा जम्मा गरेको त्यसै बैंकका प्रवक्ता /सूचना अधिकारी रामबाबु प्रसाईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी साधारणसभामा उक बैंकले आफूसँग कारोबार गर्ने संघ/ संस्था एवं सहयोग र समन्वय गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।
बिगत ३ वर्षदेखि लगातार १५ प्रतिशत लाभांश वितरण गर्दै आएको सो बैंकले आर्थिक वर्ष २०७६/०७७ को कारोबारबाट रु.२७ करोड ७८ लाख लाभांश वितरण गरेको हो ।
यसैगरी आफू सँग कारोवार गर्ने सहकारी संस्थाहरुलाई आर्थिक वर्ष २०७४/०७५ को कारोबारबाट रु.४ करोड ४३ लाख र आर्थिक वर्ष २०७५/०७६ को कारोबारबाट रु.९ करोड ३५ लाख संरक्षित पूँजी फिर्ता कोषबाट रकम प्रदान गरेको त्यस बैंकले आर्थिक वर्ष २०७६/०७७ को कारोबारबाट रु.१२ करोड ७३ लाख रुपैया संरक्षित पूँजी फिर्ता कोषबाट केही समय पछि प्रदान गर्ने सोही बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद गुरागाईको भनाई छ ।
