कश्मिरा साकोस , बागबजारको १३औं वार्षिक साधारणसभा सम्पन्न , रमेश पाण्डे पुन: अध्यक्षमा निर्विरोध चयन
काठमाडौंको बागबजारमा रहेको कश्मिरा वचत तथा ऋण सहकारी सस्था लि.को १३ औ बार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष रमेश पाण्डेको अध्यक्षता तथा संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा २०७७ पुस ४ गते हार्दिक होटल बागबजारमा सम्पन्न भयो । सो साधारणसभाको उद्घाटन गर्दै

प्रमुख अतिथि भट्टराईले ‘सुखी नेपाली र समृद्ध नेपाल नेपाल’ निर्माण गर्ने अभियानका साथ बर्तमान सरकार अगाडि बढिरहेकोले यसका लागि सहकारी संघ/संस्था लगायत सबैको साथ र सहयोग आवश्यक छ भन्नुभयो । उहाँले सामाजिक तथा आर्थिक परिवर्तनमा सहकारीको योगदान महत्वपूर्ण रहेकोले बर्तमान सरकार सहकारीको विकास र प्रवर्द्धनमा लागिरहेको छ भन्दै यो साधारणसभामा प्रस्तुत भएको कश्मिरा साकोसको प्रतिवेदन हेर्दा यो संस्था प्रगतिपथमा अगाडि बढेको देखियो भन्दै सो संस्थाको प्रगतिको कामना गर्नुभयो । त्यस अवसरमा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष उप्रेतीले निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको राष्ट्रिय सहकारी बैंकले ८५ प्रतिशत भन्दा माथि शुचाङ्क पु-याएका सहकारी संस्थाहरुलाई विशेष सेवा र सुविधा उपलब्ध गर्ने बताउनुभयो । त्यसैगरी बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाई , पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा र कास्कूनका सचिव शालिकराम पुडासैनीले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान गरिरहेका सहकारी संघ/संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउने गरी कार्य गर्नु पर्ने बताउनुभयो ।
उक्त साधारणसभाको अध्यक्षता गर्दै सो संस्थाका अध्यक्ष पाण्डेले शेयर सदस्य ज्यूहरुको साथ सहयोग र कर्मचारीहरुको मेहनत र लगनशीलताले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो । उहाँले हाम्रो यस संस्थासँग ब्राइट साकोस , मनिप्लान्ट साकोस र विद्युतीकर्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्य रहेको बताउनुभयो ।
त्यसै संस्थाका सचिव जयराम तिमिल्सिनाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको र सञ्चालक सुदर्शन अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त साधारणसभाले पुन; रमेश पाण्डेको अध्यक्षतामा सञ्चालक समिति र डिल्लीराज धितालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ । 
४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा बालकुमार खत्री , सचिवमा जयराम तिमिल्सिना र कोषाध्यक्षमा प्रकाश फुँयाल तथा सदस्यमा सुदर्शन अर्याल , शर्मिला जोशी र सरोज भण्डारी एवं लेखा सुपरीवेक्षण समिति सदस्यमा रविन शर्मा र शिशिर पोखरेल हुनुहुन्छ ।
काठमाडौंको बागबजारका रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामेन्द्र न्यौपाने तथा विद्युतीकर्मी बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष रामकुमार थेबे र काठमाडौंको मीनभवनमा रहेको मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. प्रबन्धक निर्देशक ओम बस्नेत लगायतले सो संस्थाको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सो साधारणसभाले उक्त संस्थाको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र आर्थिक प्रतिवेदन छलफल गरी पारित गरेको थियो । 
त्यस साधारणसभामा प्रमुख अतिथि, विशेष अतिथि र आतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

