विन्धबासिनी साकोस,बनेपाको २७औं वार्षिक साधारणसभा सम्पन्न , आ.व.२०७७/०७८ मा कूल सम्पति तथा पूँजी एवं दायित्व रु.४,६१,४७,०३,००० पु-याउने लक्ष्य
काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा २०७७ मंसीर १० देखि २७ गतेसम्म सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न भएको छ । २०७७ मंसीर २७ गते सम्पन्न सो साधारणसभाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलले सहकारीको विकास र प्रवर्द्धनमा बाधक सहकारी ऐन/ नियमावलीमा उल्लेखित प्राबधान र अन्य ४७ वटा ऐन संशोधनको लागि राष्ट्रिय सहकारी महासंघले राज्यसँग लबिङ्ग र पैरवी गरिरहेको छ भन्नुभयो । उहाँले यस विन्धवासिनी साकोसले सेवामा उत्कृष्टता हासिल गरेको भन्दै अब सदस्यको जीवनस्तर उठाउने गरी उत्पादन र ब्य व्यवसायसँग जोडिने खालका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने खाँचो औँल्याउनुभयो ।
उक्त साधारणसभाको अध्यक्षता गर्दै सो संस्थाका अध्यक्ष थापाले यस विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सदस्यहरुलाई सेवा प्रवाह गरी सञ्चालन भइरहेको छ भन्नुभयो ।
त्यसै साधारणसभामा उक्त संस्थाका प्रमुख व्यवस्थापक के.वी. लामाले समूहगत र क्षेत्रगत अवधारणामा सञ्चालन भइरहेको यस विन्धवासिनी बचत तथि ऋण सहकारी संस्था लि. ले सामाजिक तथा सामूदायिक कार्यक्रम सञ्चालन गरी सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको र यसले आर्थिक वर्ष २०७६/०७७ मा काभ्रेपलाञ्चोक र काठमाडौ जिल्ला भित्र १,७९३ वटा समूह मार्फत ३८,८१७ जना शेयर सदस्य र ७,९५३ जना शैक्षिक बाल बचतकर्ता गरी कूल ४६,७७० सेवाग्राही, रु.३४,३८,९२,६०० शेयर पूँजी, रु.२,४४,८८,१९००० बचत तथा निक्षेप ,२,५४,६५,९७,००० ऋण लगानी र रु.३,३८,६४,८४,००० कूल सम्पति रहेको र आर्थिक वर्ष २०७७/०७८ मा यो सस्थाको ५०,८४७ जना सदस्य, रु. ४,६१,४७,०३,००० कूल सम्पत्ति तथा पूजी एवं दायित्व पु-याउने लक्ष्य रहेको बताउनुभयो । उहाँले यस संस्थाले वित्तीय कारोवारका आलावा सदस्य सुरक्षण कार्यक्रम, लघुवित्त कार्यक्रम, लघु जीवन वीमा, बाली वीमा, पशु वीमा , ज्ञानमा आधारित विशेष कृषि कार्यक्रम, विप्रेषण , स्थानीय तहको सहकारी कार्यक्रममा व्याज अनुदान, सहुलियत ऋण, सामाजिक तथा सामूदायिक कार्यक्रम सञ्चालन गर्नुका साथै सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्वावलेट बैकिङ्ग, एटीएम( ATM) सेवा, बैंक र संस्था बीच फण्ड ट्रान्सफर सेवा लगायतका कार्यहरु गर्दै आएको छ भन्नुभयो ।
सो अवसरमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा र सोही संघका सञ्चालक प्रकाश बञ्जारा , बागमती प्रदेश सहकारी संघ लि.का सञ्चालक कृष्णप्रसाद तिमल्सिना र फलफूल तरकारी तथा विउविजन कृषि केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष विनोद पराजुलीलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्दै सम्मान गरिको थियो ।
२०७७ मंसीर १० देखि २४ गते सम्म २३ स्थानमा सदस्यहरुको भेला गराई सोही भेलाबाट क्षेत्रगत आधारमा साधारणसभाका लागि प्रतिनिधि चयन गरी २०७७ मंसीर २७ गते संस्थाको मुख्य कार्यालय र सेवा कार्यालयमा एकै दिन क्षेत्रगत प्रतिनिधिहरु उपस्थित गराई सो साधारणसभा सम्पन्न गरेको हो ।
