भक्तपुर बचत संघको १६औं वार्षिक साधारणसभा सम्पन्न , सहकारी ऐन र नियमावलीमा मेल नभएका बुदाँहरु संशोधन गर्नुपर्ने देखिन्छ : रजिष्टार डा. पाण्डे

0 Shares

सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेले कोभिड-१९ को विषम परिस्थितीमा सहकारी क्षेत्रमा अधिक तरलता निक्षेप बढेको बताउनु भएको छ ।२०७७ पौष ११ गते भक्तपुरको सूर्यविनायक स्थित होटल हेरिटेजमा सम्पन्न भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरको १६औं वार्षिक साधारणसभाकोे उद्घाट्न गर्दै उहाँले ६५ लाख भन्दा बढी सदस्य भएको र १ लाख भन्दा बढीलाई रोजगारी दिएको सहकारी क्षेत्रको कूल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत भन्दा बढी योगदान रहेको बताउदै ‘सहकारी ऐन ,२०७४ र सहकारी नियमावली ,२०७५ बीच कतिपय क्षेत्रहरुमा मेल नभएकोले कार्यान्वयनमा ल्याउन व्यवहारिक समस्याको हलको लागि सहकारी ऐन /नियममा संशोधन गर्नुपर्ने देखिन्छ’ भन्नुभयो । ‘बचत तथा ऋण सहकारी अनुगमन निर्देशिकामा विषयगत संघ तथा ख, ग र घ बर्गको बैंक तथा वित्तीय संस्थामा रहेको संस्थाको निक्षेपलाई पनि तरलता गणना गर्ने गरी संशोधन भएको छ: उहाँको भनाई छ । रजिष्टार डा. पाण्डेले भक्तपुर जिल्ला बचत संघले सहकारी क्षेत्रमा सुशासित,अनुकरणीय र समुदायमा भिजेर सदस्यको हितमा काम गरिरहेको छ , यसमा महिला सहभागिता ३३ प्रतिशत लागू भएको छ र सन्दर्भ व्याजदरको स्वागत गरेर यस संघले सन्दर्भ व्याजदर कार्यान्वयनमा सहजता ल्याइदिएको छ’ भन्दै समुदायमा आधारित सहकारीको विकासमा यो संघले खेलेको भूमिका अनुकरणीय रहेको र सहकारी ऐन/ नियम अनुसार यसले गरेको विनियम संशोधनका प्रस्तावहरु जायज रहेेेको बताउनुभयो ।

सो अवसरमा कास्कूनका अध्यक्ष समेत रहनु भएका नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले भक्तपुर पर्यटकीय क्षेत्रमा मात्र नभई सहकारी क्षेत्रको रुपमा पनि परिचित रहेको बताउनुभयो । उहाँले ‘भक्तपुर बचत संघले समुदायको सहकारी विकासका लागि सञ्चालन गर्दै आएको विभिन्न तालिम तथा कार्यक्रमहरुमा नेफ्स्कूनको साथ, समर्थन र सहयोग सदैब रहने बताउदै ब्राण्डको विषयलाई लिएर नेफ्स्कूनमा कुनै समस्या नरहेको तर समस्या व्यक्तिको सोचमा मात्रै रहेको विचार व्यक्त गर्नुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का नि:वर्तमान अध्यक्ष राधेश्याम सुवालले दोहोरो सदस्यताले ऋण लगानी तथा असुलीमा समस्या भएकोले कर्जा सूचना केन्द्र स्थापना गरी उक्त समस्याको न्युनिकरण गर्न सकिने  बताउनुभयो । उक्त सभाको अध्यक्षता गर्दै सो संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले ‘सन्दर्भ व्याजदर र सेवा शुल्क तोक्ने सहकारी विभागको कार्यले सदस्यले सदस्यलाई शोषण हुनबाट सचेत बनाएको छ’ भन्नुभयो । उहाँले एक व्यक्ति एक-सहकारीको व्यवस्था व्यवहारिक नभएकोले संशोधन हुनुपर्ने विचार व्यक्त गर्दै सहकारीको आयकर ५ प्रतिशत हुदा सहकारी संघ /संस्थामा अग्रिम व्याज करकट्टी १५ प्रतिशत नै कायम रहनु न्यायोचित नभएको बताउनुभयो । सोही संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्दै अव्यवहारिक र समाजले स्वीकार्न नसक्ने सामाजिक सुधार ऐन जारी भएपनि लागू नभए जस्तै सहकारी ऐन/ नियममा भएका अव्यवहारिक पक्ष कार्यान्वयनमा समस्या रहेकोलेे संशोधन गर्नुपर्ने बताउनुभयो ।

 

सोही सभामा त्यसै संघका सचिव जगन्नाथ प्रजापतिले सो संघको आर्थिक वर्ष २०७६/०७७ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांश प्रस्ताव र संरक्षित पूँजी फिर्ता दिने प्रस्ताव पेश गर्नुभयो भने त्यस संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आर्थिक वर्ष २०७६।०७७ को वित्तीय प्रगति प्रतिवेदन पेश गर्नुभयो । सभाबाट आर्थिक वर्ष २०७६।०७७ मा रु.१ अर्व २ करोड ९९ लाख ६८ हजारको वासलात र रु.१ करोड ४४ लाख ४३ हजारको नाफा सहितको लेखापरीक्षण प्रतिवेदन र आर्षिक वर्ष २०७७।०७८ मा संघको वासलात रु.१ अर्व ५४ करोड ५७ लाख ९३ हजार पु-याउने लक्ष्य सहितको बजेट पारित भएको छ , साथै संघको आफ्नै भवन निमार्ण कार्य भई साढे तीन तल्लाको स्ट्रक्चर कार्य सम्पन्न भई फिनिशिङ कार्य भइरहेको भवनको लागि रु.१ करोड बजेट र १५ लाख ६२ हजार ३ सय प्रस्तावित कार्यक्रम तथा तालिम प्रस्ताव पारित गरियो । संघका लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आर्थिक वर्ष २०७६।०७७ को लेखा सुपरीवेक्षण समितिको बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो ।

उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकतम योगदान गर्ने सदस्य संस्थाहरु मध्ये बचतमा : सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि., उपकार बचत तथा ऋण सहकारी संस्था लि. र श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. तथा ऋणमा : संचित बचत तथा ऋण सहकारी संस्था लि., बंगलामुखी बचत तथा ऋण सहकारी संंस्था लि. र एकता बचत तथा ऋण सहकारी संस्था लि. लाई प्रशंसा-पत्र प्रदान गरियो ।

उक्त संघको १६औं बाषिक साधारणसभा महामारीमा साधारणसभा सञ्चालन कार्यविधि अनुसार २०७७ पुष ३ गतेदेखि प्रतिनिधिको उपस्थिति शुरु भई पुष ११ गते प्रतिनिधिहरुको भर्चुअल उपस्थिति र भौतिक रुपमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्य र कर्मचारीहरु गरी १३३ जनाको उपस्थितिमा सम्पन्न भयो ।

 

Leave a Reply