बागमती प्रदेश विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठनको लागि बन्यो डी.बी. बस्नेतको संयोजकत्वमा तयारी समिति

बागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठन गर्नका लागि राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले सोही महासंघका सञ्चालक डी.बी. बस्नेतको संयोजकत्वमा तयारी समिति गठन गरेको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा २०७७ पुस १६ गते ललितपुरको पुल्चोक स्थित राष्ट्रिय सहकारी महासंघ लि.नेपालको सभाहलमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठनका विषयमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा गठन गरिएको त्यस तयारी समितिको सदस्यमा जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष माधव दुलाल , काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) का सचिब सालिकराम पुडासैनी , संकटा उपभोक्ता सहकारी सस्था लि., काठमाडौंका विन्देश्वर श्रेष्ठ , हिलटप बहुउद्देश्यीय सहकारी संस्था लि., तिनकुने , काठमाडौंका प्रबन्ध सञ्चालक सुमन विक्रम थापा , मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लि., मिनभवन , काठमाडौंका प्रबन्ध सञ्चालक ओमबहादुर बस्नेत, कीर्तिपुर उपभोक्ता सहकारी संस्था लि. कीर्तिपुर , काठमाडौं लक्ष्मी कुमार महर्जन, जेष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंका हेमबहादुर कार्की, चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लि., महाबौद्ध , काठमाडौंका राजेन्द्र कुमार श्रेष्ठ, शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लि., सातदोबाटो , ललितपुरका आङदावा शेर्पा, सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि., भक्तपुरका कृष्ण गोविन्द्झ लाखाजु , सपना बहुउद्देश्यीय सहकारी संस्था लि.का रामचन्द्र अर्याल, बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. , शंखधर चोक , भक्तपुरका अध्यक्ष पञ्चकृष्ण श्रेष्ठ रहनु भएको छ । सो समितिलाई उक्त संघ गठनका लागि आवश्यक कार्य गर्ने जिम्मेवारी दिइएको छ ।
सो अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.नेपालका अध्यक्ष मिनराज कँडेलले
महासंघले ७ वटै प्रदेशमा सम्भावित अध्ययन गरेको र बागमती प्रदेश सबैभन्दा बढी सम्भावना रहेको प्रदेशका रुपमा रहेको बताउनुभयो । सोही अन्तर्क्रिया कार्यक्रममा संघको उद्देश्यमाथि प्रकाश पार्दै महासंघका सञ्चालक तथा नव गठित उक्त तयारी समितिका संयोजक डी.बी. बस्नेतले सहकारीको उत्पादित बस्तु र उपभोक्ता सहकारीलाई मध्यनजर गरेर होलसेल मार्केटिङका लागि संघको आवश्यकता रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा सोही महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले वागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठन हुने सम्भावना र आवश्यकता माथि प्रस्तुती गर्दै ५५ लाखभन्दा बढी जनसख्या भएको, ३३.५ प्रतिशत सहकारी र सहकारीको कुल पूँजीमध्ये ६७.३ प्रतिशत पुँजी बागमती प्रदेशमा रहेकाले यहाँ यसको सम्भावना रहेको बताउनुभयो । त्यस अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजु लगायतले आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
त्यसै कार्यक्रममा महासंघका सञ्चालकत्रय खेमबहादुर पाठक, टेकप्रसाद चौलागाई र राजेन्द्र पौडेल तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र कोषध्यक्ष दीपक पनेरुको पनि उपस्थिति थियो ।