मर्स्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्था लि., मुग्लिङ्ग आयमूलक तथा सीपमूलक तालिम सञ्चालन गर्ने तयारी गर्दै छ : व्यवस्थापक कुमार श्रेष्ठ

0 Shares

चितवनको ईच्छाकामना गाउँपालिका-३, मुग्लिङ्ग बजारमा रहेको मर्स्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्था लि.का व्यवस्थापक कुमार श्रेष्ठले हाम्रो यस मर्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको आय बृद्धि गर्ने उद्देश्यले  आयमूलक तथा सीपमूलक तालिम सञ्चालन गर्ने तयारी गरिरहेको बताउनु भएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले यस संस्थाले लगानी गरेको कृषि तथा पशुको वीमा गर्न पहल गर्ने , यस संस्थाका महिला समूहलाई उद्यमी र व्यवसायिक बनाउन व्यवसाय प्रवर्द्धन सम्बन्धी तालिम सञ्चालन गर्ने , नयाँ समूह र सेवा क्षेत्रको पहिचान गरी कार्यक्रम विस्तार गर्ने , असल शेयर सदस्यहरुलाई संस्थामा थप शेयर लगानी गर्न प्रोत्साहन गर्ने , हाल कायम भएको कर्जाको सीमा रु.३० लाखबाट बढाउने र आफ्नो कार्यालय प्रयोजनको लागि जग्गा खरीद गर्ने योजना निर्माण गरिरहेको छ भन्नुभयो । तपाईहरु अरु कुनै सहकारी संस्था सँग एकीकरण पनि गर्दै हुनुहुन्छ कि भन्ने भन्ने सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीको जिज्ञाशाको जवाफमा उहाँले यस क्षेत्रमा इच्छुक सहकारी संस्थालाई मर्जरका लागि पहल गर्ने र आवश्यक स्थानमा आफ्नो सेवाकेन्द्र स्थापना गरेर सुविधा प्रदान गर्ने योजना रहेको भन्दै कोभिड-१९ को महामारीको असहज परिस्थितिमा पनि घुम्ती टोली परिचालन गरी यस संस्थाबाट हुने नियमित कार्यहरु विद्युत सेवा , बचत तथा रकम भुक्तानी सेवा निरन्तर सञ्चालन गरिएको तथा कृषि र पशुपञ्छी व्यवसायमा सदस्यहरुलाई दाना , चोकर , मल र बीऊ खरीद गर्न आवश्यक परेको चालु पूँजीको लागि ऋण उपलब्ध गराई सहजीकरण गरिएको र आर्थिक वर्ष २०७६/०७७ को यस संस्थाको आर्थिक स्थिति सन्तोषजनक रहेको बताउनुभयो । ‘ADB को आर्थिक सहयोगमा ‘लैङ्गिक समानता र सामाजिक समावेशीकरणका लागि उर्जा क्षेत्रको श्रमता अभिबृद्धि’ कार्यक्रम अन्तर्गत यस मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यक्षेत्र भित्र रहेका ५० जना महिला उद्यमीहरुको उद्यमशीलता र व्यवसाय विकास गर्ने उद्देश्यले व्यवसाय व्यवस्थापन तालिम , महिला सशक्तिकरण तालिम , व्यवसायिक तरकारी खेती , व्यवसायिक कुखुरापालन तालिम , होटल व्यवस्थापन तालिम , व्यवसायिक बाख्रापालन तालिम , होमस्टे , १५ दिने सिलाई कटाई तालिम र चिप्स बनाउने तालिम सञ्चालन गरेको उहाँको भनाई छ ।

सो संस्थाको २०७७ मंसीर २० देखि २७ गतेसम्म २० औं वार्षिक साधारणसभा उक्त संस्थाका अध्यक्ष तेजबहादुर शेरचनको अध्यक्षतामा सम्पन्न भयो । 

चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहीद लखन थापा गाउँपालिका भित्र कार्यक्षेत्र रहेको त्यस संस्थाको २०७७ मंसीर २७ गते सोही साधारणसभाको समापन कार्यक्रमको उद्घाटन गर्दै ईच्छाकामना गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष गोवर्द्धन अधिकारीले यस मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक तथा आर्थिक क्षेत्रमा पु-याएको योगदान सराहनीय रहेको भन्दै सहकारी क्षेत्रको विकास र प्रवर्द्धनको लागि आफू लागिरहने बताउनु भएको थियो । त्यस साधारणसभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष शेरचनले ‘२०५७ फागुन ९ गते  स्थापना भएको यस मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी लि. आजसम्म आईपुग्दा १,६६७ शेयर सदस्य र रु.३ करोड ७२ लाख शेयर पूँजीी सहित यस क्षेत्रकै एक सफल र उदाहरणीय संस्थाको रुपमा स्थापित भएको छ’ भन्नुभयो । उहाँले स्थापना भएको २ दशकको अवधिसम्म आईपुग्दा यस संस्थाले ग्रामीण विद्युतीकरण सहित बचत र ऋण , लघुवित्त , मनिट्रन्सबर , रेमिटेन्स , रिचार्ज सेवा , कृषि तथा पशु फार्म , उद्यमशीलता विकास र प्रवर्द्धन लगायतका सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।

सो संस्थाका सचिव खुमप्रसाद पन्तले वार्षिक प्रतिवेदन ,  लेखा सुपरीवेक्षण समिति संयोजक माया सिलवालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानुदेवी पाण्ढेले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।साधारणसभाबाट छलफल गरी ती प्रतिवेदनहरु पारित भएका थिए ।

 

Leave a Reply