नवकान्तिपुर साकोस ,बत्तीसपुतलीको २३औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौंको बत्तीसपुतलीमा मुख्य कार्यालय तथा गौशाला र इन्द्रचोकमा सेवाकेन्द्र सञ्चालन गरिरहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.को २३औं वार्षिक साधारणसभा आफ्ना शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी २०७७ पुस १८ गते सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थाले आफ्नो कूल कारोवारको आधारमा प्राप्त गरेको मुनाफाबाट सो लाभांश वितरण गर्ने निर्णय गरेको सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत हरि पाण्डेको भनाई छ ।
उक्त साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले सहकारी संस्था स्वायत्त भएकोले यसको विकास , प्रवर्द्धन र नियमनमा शेयर सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सहकारी अभियानमा बेग्लै पहिचान बनाएको नवकान्तिपुर साकोसको सूचकांक सकारात्मक देखिएको छ भन्नुभयो ।
साधारणसभामा उक्त संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले त्यस संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दे ‘ऐन/नियमहरु पालना गरी आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप विधि र पद्धति अनुरुप सञ्चालन भइरहेको हाम्रो यस नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. ले कोरोना महामारीको विषम परिस्थितिमा समेत आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गर्न सक्ने अवस्था निर्माण भएको छ’ भन्नुभयो । उहाँले आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थाको चुक्ता पूँजी रु.७ करोड ४ लाख ९० हजार ५ सय , कूल निक्षेप रु.२ अर्ब ३६ करोड ८४ लाख ७९ हजार ६ सय ४ , कर्जा लगानी रु.१ अर्ब ३२ करोड ९१ लाख ४४ हजार ८ सय ८५ , जगेडा तथा अन्य कोषहरु रु.१८ करोड २० लाख ८१ हजार १ सय ५५ र संस्थाको सञ्चालन मुनाफा रु.३ करोड ९४ लाख ४५ हजार ३ रहेको बताउनुभयो ।
त्यस अवसरमा उक्त संस्थामा १५ बर्षसम्म निरन्तर कार्य गरिरहेका ११जना कर्मचारीहरुलाई जनही रु.७५ ,००१ नगद सहित नवकान्तिपुर दीर्घ सेवापदक- २०७७ प्रदान गरी सम्मानित गरिएको थियो ।
