गौरीशंकर साकोस , हुप्सेकोट-३, गिरुवारीको अध्यक्षमा पुन: प्रकाशचन्द्र वाग्ले चयन

नवलपरासी(बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट-३, गिरुवारीमा रहेको गौरीशंकर बचत तथा ऋण सहकारीको संस्था लि.को सञ्चालक समितिको अध्यक्षमा पुन: प्रकाशचन्द्र वाग्ले चयन हुनु भएको सो संस्थाका संस्थापक सचिव अमरबहादुर गोदारले बताउनु भएको छ । उक्त संस्थाको २०७७ मंसीर १८-२० मा सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न ८औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट ४ वर्षे कार्यकाल रहने गरी सर्वसम्मत चयन भएको सो सञ्चालक समितिको उपाध्यक्षमा पदमराज तिम्सिना , सचिवमा सीता के.सी. कार्की र कोषाध्यक्षमा बासुदेव सुवेदी तथा सदस्यमा रवि तिम्सिना , देवीकुमारी कार्की र विष्णुमाया कार्की हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा शान्त घिमिरे तथा सदस्यमा श्रीराम सुवेदी र भरतप्रसाद वाग्ले चयन हुनु भएको छ ।
उक्त साधारणसभा सोही संस्थाका जेष्ठ शेयर सदस्य पदमराज कँडेलको प्रमुख आतिथ्यता र अध्यक्ष प्रकाशचन्द्र वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस साधारणसभामा सोही संस्थाकी सचिव मिना खड्काले संस्थाको सञ्चालक समितिको प्रतिवेदन ,व्यवस्थापक विश्वनाथ पाण्डेले आर्थिक वर्ष २०७६/०७७ को प्रगति प्रतिवेदन एवं आर्थिक वर्ष २०७७/०७८ को लागि अनुमानित बजेट र लेखा सुपरीवेक्षण समिति संयोजक घनश्याम सुवेदीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र ऋण उप-समिति संयोजक लक्ष्मण सुवेदीले ऋण उप-समिति को प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाबाट ती प्रतिवेदनहरु छलफल गरी पारित गरिएको थियो । 
बचत र ऋण कारोवारको अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी शिक्षा अन्तर्क्रिया/गोष्ठि , वक्तृत्वकला , हाजिरी जवाफ , तीज कार्यक्रम जस्ता रचनात्मक क्रियाकलाप सञ्चालन गरेको उक्त संस्थाले कोरोना महामारीको विषम परिस्थितिको समयमा आफ्ना विपन्न शेयर सदस्यहरुलाई आर्थिक सहयोग , खाद्यन्न , माक्स र सेनिटाइजर वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।



