मुकुन्दपुर साकोस, गैडाकोट न.पा.-११, हर्कपुर , नवलपरासी(ब.सु.पूर्व) को १६औं वार्षिक साधारणसभा जारी
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका-११, हर्कपुरमा मुख्य कार्यालय रहेको मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशन २०७७ पुस १५ गतेबाट जारी छ । सहकारी संघ/संस्थाको वार्षिक साधारणसभा सम्बन्धी निर्देशन पालना गरी सञ्चालन भइरहेको सो साधारणसभा यही पुस २५ गते शनिवार विहान १० बजे यात्री रिसोर्ट एण्ड पार्टी प्यालेस , गैडाकोट नगरपालिका-१३, बेल्डिहा, नवलपरासीमा प्रतिनिधिमूलक ढंगबाट समापन कार्यक्रम गरी सम्पन्न गर्ने कार्यक्रम रहेको सोही संस्थाका व्यवस्थापक सुरज लामिछानेले बताउनुभयो । २०७७ पुस १६ देखि २४ गतेसम्म संस्थाको प्रतिवेदन उपर छलफल गरी सुझाव संकलन गर्ने र प्रतिनिधि छनौट गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ ।
यही पुस १५ गते गैंडाकोट नगरपालिका वडा नं.११ का वडा अध्यक्ष गोविन्द सुवेदीले सो साधारणसभाको उद्घाटन गर्दै कोरोना महामारीको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरी यस संस्थाको वार्षिक साधारणसभा गर्नु परेको भन्दै सहकारीको विकास र प्रवर्द्धन गर्न आफू लागीपर्ने बताउनुभयो । उहाँले साविक मुकुन्दपुर लगायत सिङ्गो गैंडाकोट समेट्ने ढंगबाट यसको कार्यक्षेत्र अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । त्यस साधारणसभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष खुमनाथ शर्माले ‘शेयर सदस्य ज्यूहरुको साथ सहयोग ,सञ्चालक समितिको सक्रियता र कर्मचारीहरुको मेहनतले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ’ भन्नुभयो । उहाँले हाल यस संस्थामा शेयर सदस्य संख्या ३,६३९, शेयर पूँजी रु.२,३४,२७,१००, बचत संकलन रु.१६,११,६२,०४३ रहेको र संस्थाका सबै सुचाकङ्कहरुलाई मध्यनजर गर्दै यस संस्थाले रु.३० लाख सम्म ऋण प्रवाह गरेको छ भने रेमिट्यान्स सेवा, विद्युत महसुल,खानेपानी तथा टेलिफोनको विल तिर्ने,मोवाइल रिचार्ज गर्ने जस्ता यस संस्थाको मुख्य कार्यालय सहीत सबै सेवकेन्द्रबाट प्रवाह गरिरहेको बताउनुभयो ।
त्यसै संस्थाका उपाध्यक्ष धनेश्वर तिवारीले स्वागत मन्तव्य र सह-सचिव कालीप्रसाद देवकोटाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सोही संस्थाका सचिव नारायणप्रसाद कँडेलले वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष चक्रपाणि कँडेलले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुरज शर्माले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो ।






