लोकेश्वर साकोस , भक्तपुरको १३औं बार्षिक साधारणसभा सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.,भक्तपुरको १३औं बार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रमुख अतिथि प्रेम सुवालले 
पानसमा दीप प्रज्वलन गरी सो साधारणसभा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा उहाँले देशको बर्तमान राजनीतिक परिस्थितिबारे प्रस्ट पार्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको आन्तरिक कलहको कारण प्रधानमन्त्रीले सांसद विघटन गर्नु संसदीय व्यवस्थाको स्वभाविक प्रकृया भएको भन्नु हुदै सरकारमा गएका पार्टीले देश र जनताको समस्यालाई उठाउनु भन्दा पद र भागबण्डाको कारण बहुमत भएर पनि सरकार चलाउन नसकेकोले संसद भंग गरेको बताउनुभयो । सरकारमा गएका हरेक पार्टीले भारतको हितमा काम गरेका कारण लोडसेडिङको मार तथा किसानले मलको हाहाकार भोग्नु परेको उहाँको भनाई थियो । उहाँले अमेरिकाबाट सुरु भई विश्वव्यापी फैलिएको कोरोना भाइरसलाई अमेरिकाले चाइनिज भाइरस भनी बदनाम गराउने प्रायस भएको बताउनु हुदै सो रोगबाट बच्न सजग हुनु पर्नेमा जोड दिनुभयो । जग्गा एकीकरण आयोजनामा जनताको भावना अनुकूल काम गर्नुपर्ने,भक्तपुर उद्योग क्षेत्रलाई स्थापनाको उद्देश्य अनुरुप हस्तकलामा आधारित साना उद्योगको रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनु हुदै प्रमुख अतिथि सुवालले सहकारी संस्थाले सदस्यहरु बीच आर्थिक समानताका लागि कार्यक्रमहरु सञ्चालन गरी गाउँ र शहर बीचको भेद तथा बौद्धिक र शारीरिक श्रम बीचको भेद हटाउने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने र सदस्यहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि सचेत गराउनु पर्ने आवश्यकता औंल्याउनुभयो । त्यसैगरी भक्तपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले ‘देको मिवा’ जग्गा एकीकरण आयोजनाको बारेमा प्रष्ट पार्नुका साथै भक्तपुर नगरपालिकाको गतिविधि बारेमा जानकारी गराउनुभयो ।
उक्त संस्थाका अध्यक्ष राजन जतिको अध्यक्षतामा भएको सोही
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं.१५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्वुजाले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस सम्बन्धी सचेतनाको लागि विज्ञहरुको विचारलाई मनन् गनुपर्ने बताउनुभयो ।
सोही संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले स्वागत गर्नु भएको उक्त कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का प्रतिनिधि श्रीप्रसाद त्यातले एक व्यक्ति-एक सहकारी र ‘क’ बर्गको बैकमा राखेको रकमलाई मात्र तरलता मान्ने भन्ने नेपाल सरकारको नीति सहकारी हितमा नरहेको जानकारी गराउनुभयो । उक्त कार्यक्रममा सो संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन , सचिव कृष्णराम तुकंबन्जारले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा समाजसेवी श्यामसुन्दर मातां र प्रनेश बाटीले पनि आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
