आफूलाई सहकारी मन्त्री भएकोमा गर्व लागेको छ : मन्त्री विमला के.सी.
कर्णाली प्रदेश , भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला के.सी.ले आफू भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भए पनि सबै भन्दा बढी सहकारी मन्त्री भएकोमा गर्व लाग्ने गरेको बताउनु भएको छ । २०७७ पुस २२ गते सुर्खेतको वीरेन्द्रनगरमा नेफ्स्कूनको आयोजनामा भएको
‘सहकारी एकीकरण’ सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री के.सी.ले ‘आफूले सहकारीका कार्यक्रमलाई निकै महत्व दिने गरेको बताउदै कर्णाली प्रदेश सरकारले सहकारी मार्फत कृषिमा कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ काम गरिरहेको छ साथै सहकारी र सहकारीका सदस्यको लागि निकै महत्वपूर्ण हुने गरी सहकारी मार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको र उक्त कार्यक्रमका लागि रु.७ करोड रकम समेत विनियोजन गरिएको छ भन्नुभयो । सहकारी राजनीति भन्दा माथि हुनु पर्नेमा जोड दिनु हुदै उहाँले पछिल्लो समय देशको राजनीतिमा बिचलन आए पनि त्यसले सहकारी क्षेत्रमा अशर नगर्ने विश्वास व्यक्त गर्नुभयो ।
सो कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले दिगो, सक्षम, गुणस्तरीय एवं सदस्यका वित्तीय तथा गैर वित्तीय आवश्यकता पूरा गर्न सहकारु एकीकरण अपरिहार्य रहेको ठानेर नेफ्स्कूनले उत्प्रेरणामूलक एकीकरणमा जोड दिएको बताउनुभयो । कर्णाली प्रदेशको सहकारी अभियानलाई दिगो र संस्थागत बनाउन प्रदेश सरकार,स्थानीय सरकार,राष्ट्रिय सहकारी बैंक,जिल्ला संघहरु लगायतका सरोकारवालासँग नेफ्स्कून साझेदारी गर्न तयार रहेको बताउदै कर्णाली प्रदेशका दुर्गम सहकारी संघ/ संस्थालाई प्रवर्द्धन, जागरण र विकास गरी स्वावलम्बी र प्रविधि मैत्री बनाउने उद्देश्यलै नेफ्स्कूनले आधारशिला कार्यक्रम अघि सारेको छ भन्नुभयो ।
उक्त गोष्ठिमा कर्णाली प्रदेश सहकारी विभागका रजिष्ट्रार राजु बस्नेतले सहकारी ऐन निययमा रहेका एकीकरण सम्बन्धी व्यवस्थाहरुबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
नेफ्स्कूनका सञ्चालक यज्ञप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठिमा वीरेन्द्रनगर नगरपालिकाका सहकारी शाखा प्रमुख टंक लामिछाने, राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक हरिहरनाथ योगी लगायतले यो गोष्ठि समय सान्दर्भिक भएको धारण व्यक्त गर्नु भएको थियो भने नेफ्स्कूनका बरिष्ठ अधिकृत दीपकप्रसाद ढुंगानाले एकीकरणका सवल पक्ष तथा एकीकरण सम्बन्धमा सहकारीहरुको बुझाई र सहकारी विभागले भखरै जारी गरेको एकीकरण निर्देशिकाका व्यवस्थाहरु सहितको प्रस्तुतीकरण गर्नु भएको थियो । नेफ्स्कून फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमलाले सञ्चालन र सोही फिल्ड कार्यालयका व्यवस्थापन उप-समिति सदस्य बमबहादुर बी.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको त्यस गोष्ठीमा सुर्खेत, दैलेख र अछामका गरी ४६ वटा संस्थाका ७८ जनाको सहभागिता थियो ।

