गोविन्दराज जौशीको संयोजकत्वमा सुदूरपश्चिम थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको तयारी समिति गठन
भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको सहजिकरणमा यही पुस २२ गते कैलाली जिल्ला सदरमुकाम धनगढीमा आयोजित अन्तर्क्रिया कार्यक्रमबाट सुदूरपश्चिम थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ गठन गर्नका लागि गोविन्दराज जोशीको संयोजकत्वमा तयारी समिति गठन गरिएको जानकारी प्राप्त भएको छ । सो समितिको सदस्यमा जलाकुमारी विष्ट , प्रेम सिंह रानाभाट , शान्ति सिंह , डम्बर शाह , विमल जोशी, गणेश चन्द , मनमोहन विष्ट , सुरेन्द्र के.सी. , शिवबहादुर जी.सी. र हेमराज विष्ट रहनुभएको छ ।
सो अन्तर्क्रिया कार्यक्रममा मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष मिनराज कँडेलले सहकारीलाई उत्पादनसँग जोडेर सहकारीमार्फत उपभोक्तालाई सुुुपथ मुल्यमा गुुुुुुुुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले यो संघ गठन गर्न आवश्यक रहेको र त्यसका लागि तयारी समिति गठन गरिएको बताउदै उक्त संघ गठनका लागि आवश्यक प्रावधानका बारेमा चर्चा गर्नु भएको थियो । सो कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी संघहरु र प्रारम्भिक सहकारी संस्थाहरु मिलेर व्यवसाय गर्ने उद्देश्यले विशिष्टीकृत सहकारी संघ गठन गर्न सकिने कानुनी व्यवस्था रहेको बताउनु भएको थियो ।
