प्रगति महिला उत्थान साकोस, बालाजुको १८औं वार्षिक साधारणसभा सम्पन्न, आ.व. २०७६/०७७ मा रु.६,९९,८६,००० कर्जा लगानी
काठमाडौंको बालाजुमा रहेको प्रगति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारणसभा सहकारी संघ/संस्थाको वार्षिक साधारणसभा सम्बन्धी सहकारी विभागको निर्देशन पालना गरी २०७७ पुस १४ गते सम्पन्न भएको छ । सो साधारणसभाको अध्यक्षता गर्दै सोही संस्थाकी अध्यक्ष धनकुमारी श्रेष्ठले ‘वित्तीय सेवा प्रवाह गरी आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने उद्देश्य बोकेर अगाडि बढिरहेको यस प्रगति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुको सक्रियता , शेयर सदस्यहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनतका कारण कोरोना महामारीको भयाभह अवस्थामा पनि प्रगतिपथमा अगाडि बढ्न सकेको छ’ भन्नुभयो । उक्त अवसरमा त्यसै संस्थाकी सचिव पार्वती कार्कीले त्यसै संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसात गरी अगाडि बढिरहेको हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्य दिदीबहिनीहरुलाई स-साना समूह मार्फत एकीकृत गरी वित्तीय तथा गैर वित्तीय सेवा प्रवाह गर्दै आएको बताउनुभयो । उहाँले कोरोनाबाट प्रभावित निम्न आय भएका आर्थिक विपन्न शेयर सदस्यहरुलाई यस संस्थाले विभिन्न संघ संस्थासँग समन्वय गरी खाद्यान्न सामग्री उपलब्ध गराएको भन्दै आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालक समितिको क्षमता अभिबृद्धि तालिम ,सहकारी शिक्षा कार्यक्रम र स्वास्थ्य परामर्श शिविर लगायतका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
त्यस अवसरमा उक्त संस्थाकी कोषाध्यक्ष सिर्जना दाहालले आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थामा संस्थामा शेयर सदस्य संख्या ९४५ , शेयर पूँजी रु.१ करोड ९ लाख ३९ हजार , निक्षेप रु.६ करोड ८३ लाख ६० हजार र कर्जा लगानी रु.६ करोड ९९ लाख ८६ हजार र जगेडा तथा अन्य कोषमा रु.४४ लाख ४२ हजार रहेको बताउनुभयो। २०७७ पुस १२ गते शुभारम्भ भएको त्यस साधारणसभामा समुदाय स्तरमा छलफल गरी सुझाव संकलन गरिएको थियो । सोही सस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु , कर्मचारीहरु , छनौट भएका प्रतिनिधिहरुका अतिरिक्त नेपाल बसोबास बस्ती संरक्षण समाज , नेपाल महिला एकता समाज , ज्ञान ज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि. र नव दीपज्योति महिला बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न साधारणसभाको समापन कार्यक्रममा सो संस्थाको वार्षिक प्रगति प्रगति प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित भएको थियो ।

