राजेशकुमार राजथला जनता साकोस, चित्रपुर, भक्तपुरको अध्यक्षमा पुन: चयन
भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष राजेशकुमार राजथलाको अध्यक्षता २०७७ पुस २५ गते यचु पार्टी भेन्यु , शंखधरचोक , भक्तपुरमा सम्पन्न भयो ।

सहकारी विभागको सहकारी संघ/संस्थाको साधारणसभा सम्बन्धी निर्देशन पालना गरी सम्पन्न सो साधारणसभाले पुन: राजेशकुमार राजथलाको अध्यक्षतामा सञ्चालक समिति र सानुकाञ्छा राजथलाको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा महेन्द्र राजथला , सचिवमा राजु प्रजापती र कोषाध्यक्षमा कृष्णगोपाल राजथला तथा सदस्यमा दिनेश प्रजापती , उर्मिला राजथला, स्टार राजथला, राधाकृष्ण राजाथला र कृष्णकेशरी प्रजापती एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा मदन राजाथला र बाबुकृष्ण प्रजापती हुनुहुन्छ ।
उक्त साधारणसभाको उद्घाटन गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कृष्ण गोविन्द लाखाजुले स्थानीय समुदायमा आधारित जनता साकोस सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई अवलम्बन गरी राम्रो सँग सञ्चालन भइरहेको यो साधारणसभामा प्रस्तुत प्रतिवेदनबाट देखिएको बताउनुभयो । उहाँले सहकारी ऐन पूर्ण रुपमा लागू हुनु पर्नू बताउदै सहकारीको पैसा सहकारी मै राख्न पाउने व्यवस्था हुनु पर्नेमा जोड दिनुभयो । त्यस सभामा सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठ, जिल्ला सहकारी संघ लि.,भक्तपुरकी सञ्चालक सहना पसखल , राष्ट्रिय सहकारी बैंक लि. थिमि शाखाकी प्रमुख सीता भट्टराई ,चखुुँ प्रकाश समूहका अध्यक्ष सुदन खड्का तथा जनता बचत तथा ऋण सहकारी संस्था लि.का सल्लाहकार राजकुमार राजथला र कानुनी सल्लाहकार अनिल कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । उक्त सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष राजथलाले ‘सहकारीको सिद्धान्त , ऐन र नियमलाई पालना गर्दै अगाडि बढेको हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई नियमित रुपमा वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ’ भन्नुभयो । उहाँले स्थानीय समुदायमा आधारित यस संस्थाका शेयर सदस्यहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनतले कोभिड-१९ को महामारीमा पनि हाम्रो यो संस्था प्रगतिपथमा अगाडि बढ्न सकेको बताउदै कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनका समयमा यस संस्थाले सूर्यविनायक नगरपालिका वडा नं.४ को वडास्तरीय विपद् व्यवस्थापन समितिलाई खाद्यान्न लगायतका राहत सामग्री सहयोग गरेको बताउनुभयो । सोही सभामा त्यसै संस्थाका सचिव राजु प्रजापतीले वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्ययोजना र कोषाध्यक्ष कृष्ण गोपाल राजथलाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसै संस्थाका ऋषिकेश श्रेष्ठले सञ्चालन गर्नु भएकोसो साधारणसभा ख्वप टेलिभिजनका र फेसबुक पेजबाट लाईभ प्रसारण गरिएको थियो । साधारणसभा अन्तर्गत यही पुस २० देखि २२ गतेसम्म त्यसै संस्थाका शेयर सदस्यहरु वीच प्रतिवेदन उपर छलफल गरी सुझाव संकलन गर्नुका साथै प्रतिनिधि छनौट गरिएको थियो ।
सो संस्थाले शेयर सदस्यहरुलाई कर्जाको ब्याजमा रु.३५ लाख रकम छुट तथा विना शुल्क पुनरोत्थान ऋण एवं घरदैलोमा नै अत्यावश्यक सेवा उपलब्ध गराउनुका साथै आफ्नै ७.५ आना जग्गामा भवन निर्माण कार्य अगाडि बढाई सकेको छ भने आर्थिक वर्ष २०७६/०७७ मा त्यस संस्थामा शेयर सदस्य संख्या २ हजार ३ सय ४१ शेयरपूँजी रु.२ करोड २६ लाख ७२ हजार , जगेडा तथा अन्य कोषमा रु.१ करोड २० लाख , बचत संकलन रु.१५ करोड ७२ हजार , ऋण लगानी रु.१३ करोड ७९ लाख , कूल कारोबार रु.१९ करोड र खुद नाफा रु.२० लाख २४ हजार रहेको साधारणसभामा पेश गरिएको प्रतिवेदनमा उल्लेख छ । उक्त साधारणसभाको संयोजन त्यसै संस्थाका व्यवस्थापक रेशमान राजथलाले गर्नु भएको थियो ।
सोही संस्थाका ३१ जना शेयर सदस्यहरुले जनता मार्ट सञ्चालन गरिरहेका छन् ।
