प्रस्तावित नेपाल सहकारी बैंक लि.को प्रारम्भिक भेला २०७७ माघ १७ गते हुने

0 Shares

प्रस्तावित नेपाल सहकारी बैंक लि.को प्रारम्भिक भेला २०७७ माघ १७ गते काठमाडौंमा हुने भएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लि.का नि:बर्तमान सञ्चालक सुरेन्द्र भण्डारीको संयोजकत्वमा रहेको सो बैंकको तदर्थ समितिले देशभरीका १,००० भन्दा बढी सहकारी संस्थाहरुको प्रतिनिधित्व हुने गरी काठमाडौंको माइतीघर स्थित कार्की बैङ्क्वेटमा सो भेला आयोजना गरिएको र भेला सम्पन्न भए सँगै सो बैंक दर्ता प्रक्रियामा जाने आयोजकले बताएका छन् ।

‘ प्रस्तावित नेपाल सहकारी बैंक लि. स्थापनाको लागि आवश्यक फाइल जम्मा भएको छ । ७ सयभन्दा बढी सहकारी संस्थाबाट सेयर प्रतिवद्धता प्राप्त भएको छ र प्रारम्भिक चरणमा यसको संस्थागत सेयर पूँजी रु.२ अर्ब हुने छ’ सो बैंक तदर्थ समिति संयोजक भण्डारीको भनाई छ ।

सहकारी ऐन , २०७४ र सहकारी नियमावली ,२०७५ मा सहकारी बैंकहरु गठन गर्न सकिने प्रावधान उल्लेख छ , जसमा सबै प्रदेशको प्रतिनीधित्व हुने गरी ३ वर्षसम्म लगातार नाफामा रहेका कम्तीमा ५०१ सहकारी संस्थाको रु.५० करोड संस्थागत शेयर पूँजी रहनु पर्ने छ ।

सहकारी क्षेत्रमा हालसम्म राष्ट्रिय सहकारी बैंक लि. मात्रै सञ्चालनमा छ । यसमा १२ हजारभन्दा बढी सदस्य छन् भने यसले आफ्नो मुख्य कार्यालय सहित शाखा कार्यालयको संख्या ६८ पु-याउने गरी शाखा विस्तारको कार्य तिव्रताका साथ गरिरहेको छ ।

Leave a Reply