शुभकामना साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न,अध्यक्षमा रामप्रसाद कासुला
एशियाली ऋण महासंघ (अक्कू) बाट ऐक्सेस सिल्भरब्राण्ड २०१६ र २०१७ प्राप्त गर्न सफल समुदायमा आधारित शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २०औ बार्षिक साधारणसभा भक्तपुरको सूर्यविनायकस्थित सो संस्थाको मुख्य कार्यालयको सभाकक्षमा २०७७ पुुुस २२ गते सम्पन्न भयो । बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को संक्रमणलाई ध्यानमा राखी सहकारी बिभागको सूचना तथा नेपाल सरकारको स्वास्थ्य मापदण्ड समेतलाई मध्यनजर गरी सिमित सदस्यहरुको मात्र भौतिक उपस्थिति रहेको तथा अन्य सदस्यहरुको लागि संस्थागत फेसबुक तथा यूट्यूव मार्फत प्रत्यक्ष प्रसारण गरिएको उक्त सभा त्यसै संस्थाका अध्यक्ष न्हुछेकुमार त्वायनाको अध्यक्षतामा सम्पन्न भएको थियो । सभामा संस्थापक अध्यक्ष स्व. कृष्णप्रसाद सुवालको तस्विरमा माल्यार्पण गरी सल्लाहकार नारायण भक्त बाटी लगायत यस आ.ब.मा दिवांगत भएका सदस्यहरुको सम्झनामा १ मिनेट मौनधारण गरी शुुरु भएको सभामा उपाध्यक्ष एवं साधारण सभा तयारी समितिका संयोजक रामप्रसाद कासुलाले स्वागत गर्नु भएको थियो । त्यस सभाबाट सचिव निर्मला सुवालले प्रस्तुत गर्नु भएको आ.ब.२०७६।०७७ का बिभिन्न कार्यक्रम तथा आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र कोषाध्यक्ष नारायणबहादुर बासुकलाले प्रस्तुत गर्नु भएको रु.१३ करोड ११ लाख ९७ हजार २ सय ८७ आम्दानी तथा रु. १० करोड ५८ लाख ३५ हजार ३ सय १४ खर्च गरी कुल रु २ करोड ५३ लाख ६१ हजार ९७३ नाफा आर्जन गर्न सफल रहेको तथा कुल वासलात रु.१ अर्व १४ करोड १७ लाख १ हजार १ सय ३८ को आर्थिक प्रतिवेदनको साथै आर्थिक बर्ष २०७७/०७८ को रु.३ करोड ४८ लाख ७१ हजार ५ सय ४७ कुल नाफा तथा कुल वासलात रु.१ अर्व ३५ करोड १७ लाख ४२ हजार ६ सय ४ को अनुमानित बजेट पारित गरियो ।
उक्त साधारमसभाले ४ वर्षे कार्यकाल रहने गरी रामप्रसाद कासुलाको अध्यक्षतामा सञ्चालक समिति र कृष्णप्रसाद नापितको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको थियो । सञ्चालक समितिको उपाध्यक्षमा निर्मला सुवाल , सचिवमा पुष्पलाल तिमिला र कोषाध्यक्षमा बलराम जु.श्रेष्ठ तथा सदस्यमा धर्मरत्न खाईतु , धर्मरत्न शाक्य , प्रबिण बाटी , बिष्णुभक्त कवाँ , नारायण बहादुर बासुकला , सहना देवी मुनंकर्मी ,श्रृजना कोजू सुवाल , गायत्री मैया कोजू र मेनुका ताल्चाभडेल एवं लेखा सुपरीवेक्षण समिति सदस्यमा कृष्णहरि कर्माचार्य र पुण्यश्वरी सुवाल हुनुहुन्छ ।
भक्तपुरको नासमनामा सदस्य सेवाकेन्द्र समेत सञ्चालन गरिरहेको सो संस्थाले कोभिड-१९ को कारण सदस्यहरुलाई पर्न गएको आर्थिक समस्यालाई मध्यनजर गरी २०७६ चैत्र देखि हाल सम्म पूर्ण रुपमा ऋणमा हर्जाना छुट दिइरहेको र आफूले पाउनु पर्ने व्याजमा समेत ५ प्रतिशतले छुट दिँदै आएको तथा सदस्यको माग अनुसार आपतकालीन कर्जा, पुनकर्जा तथा पुनतालिकीकरणको सुबिधा प्रदान गर्दै आईरहेको सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत राध्यश्याम दुवाललेे बताउनुभयो । आर्थिक बर्ष २०७६/०७७ मा यस संस्थाले आफूले प्राप्त गरेको मुनाफाको आधारमा शेयर सदस्यहरुलाई १३ प्रतिशत लाभांश बितरण गरेको उहाँको भनाई थियो ।
