आफ्नो सेवालाई थप प्रभावकारी बनाउदै हसना भास्तिपुर साकोस, बलम्बु
काठमाडौंको बलम्बुमा आफ्नै भवनमा सञ्चालन भइरहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १२औं वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको सोही संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनले बताउनु भएको छ । सहकारी सञ्जालसँग छोटो कुरा गर्दै उहाँले ‘स्थानीय समुदायमा आधारित रही आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप बचत तथा ऋण कारोवारका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्दै अगाडि बढिरहेको हाम्रो यस संस्थाले आफ्नो शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गर्ने र सदस्यहरुलाई प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउने गरी कार्य गरिरहेको छ’ भन्नुभयो ।
उक्त संस्थाको २०७७ पुस २५ गते १२औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । सोही संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि., काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले स्थापना भएको छोटो समयमा उल्लेख्य प्रगति गर्न सफल हसना भास्तिपुर साकोस राम्रो सँग अगाडि बढेको देखिएकोलेे यसका शेयर सदस्यहरुले निर्धक्क भएर यस संस्थामा वित्तीय कारोवार गर्न आग्रह गर्नुुुुभयो ।
त्यस सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरु , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघ लि., काठमाडौंका अध्यक्ष मनोज थापा र चन्द्रागिरी नगरपालिकाका सहकारी शाखा प्रमुख रजश खड्काले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाको प्रगतिको कामना गर्नुभयो ।
२०७७ पौष १९ देखि २४ गतेसम्म उक्त साधारणसभा अन्तर्गत सञ्चालन भएका कार्यक्रममा त्यस संस्थाका प्रतिवेदन माथि सदस्यहरु वीच छलफल गरी सुझाव संकलन गरी सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु , कर्मचारीहरु एवं सिमित शेयर सदस्यहरुको उपस्थितिमा प्रविधिको माध्यमबाट सम्पन्न साधारणसभामा त्यसै संस्थाका अध्यक्ष महर्जनले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोभिड-१९ को महामारीको विषम परिस्थितिको कारण र सहकारी विभागको सहकारी संघ/संस्थाको साधारणसभा सम्बन्धी निर्देशन पालना गरी सिमित शेयर सदस्यहरुको उपस्थितिमा यसरी साधारणसभा सम्पन्न गर्नु पर्ने अवस्था आएको बताउनुभएको थियो । उहाँले यस संस्थाले आफ्ना शेयर सदस्यहरु वीच बचत तथा ऋण कारोवारका साथै समुदायलाई समेत टेवा पु-याउने गरी सामाजिक क्रियाकलापमा सहयोग गर्नुका साथै त्यसमा संस्थागत सहभागिता समेत जनाउँदै आएको बताउदै हाम्रो यो संस्थाले लोपोन्मुख कला सँस्कृति, चाडपर्व र जात्रा पर्व लगायतमा समेत सहयोग गर्दै आएको छ भन्नुभयो । कोभिड-१९ को विषम परिस्थितिमा यस संस्थाले चन्द्रागिरी नगर स्तरीय विपद व्यवस्थापन कोषमा रु.१ लाख ११ हजार १ सय ११ सहयोग गरेको र उक्त समितिले सञ्चालन गरेको निःशुल्क भोजन कार्यक्रममा पनि यस संस्थाले सहभागिता जनाएको उहाँको भनाई थियो । त्यसैगरी उक्त संस्थाका कोषाध्यक्ष राजमान महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको हाम्रो यस संस्थामा आर्थिक वर्ष २०७६/०७७ मा शेयरपूँजी रु.५ करोड ९७ लाख , निक्षेप संकलन रु.९५ करोड १४ लाख ९९ हजार , कर्जा लगानी रु.१ अर्ब ३ करोड ३९ लाख , कूल कारोवार रु.१ अर्ब २१ करोड ९८ लाख र मुनाफा आर्जन रु.१ करोड ३१ लाख ५ हजार रहेको बताउनुभयो ।
त्यसै संस्थाका उपाध्यक्ष निरज नकर्मीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको साधारणसभामा सहकारी एकीकरणमा महत्वपूर्ण योगदान पु-याउने शेयर सदस्य हरिकृष्ण महर्जन र विश्वेश्वर श्रेष्ठ तथा जेसिआई- २०२१, थानकोट शाखाकी अध्यक्ष पूर्णिमा थापालाई सम्मान गरिएको थियो भने सोही अवसरमा गोलाप्रथाबाट २१ जना शेयर सदस्यहरुलाई पोखरा , मनकामना र मुक्तिनाथको अवलोकन भ्रमणका लागि छनौट पनि गरिएको थियो ।

