सप्तऋषि साकोस, मुर्गिया, रुपन्देहीको आ.व. २०७७/०७८ मा ३ हजार शेयर सदस्य पु-याउने लक्ष्य
रुपन्देहीको सैनामैना नगरपालिका-३, मुर्गियामा रहेको सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रेमबहादुर बानियाले 
शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गरिरहेको हाम्रो यस सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लि.को २०७७ पुस २४ गतेसम्म शेयर पूँजी रु.१ करोड ६० लाख , शेयर सदस्य संख्या २,४०० , निक्षेप संकलन रु.१५ करोड ४० लाख , कर्जा लगानी रु.१६ करोड ६० लाख र कूल कारोवार रु.१७ करोड रहेको बताउनुभयो । सहकारी सञ्जाल सँग कुरा गर्दै उहाँले २०६५ असार २५ गते २५ जना शेयर सदस्यहरुको रु.२७,००० शेयर पूँजीबाट स्थापना भएको यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ र यसबेला यस संस्थामा खराब कर्जा र तरलता समस्या छैन’ भन्नुभयो । यस संस्थाको कार्यक्षेत्र सैनामैना नगरपालिका वडा नं.१ देखि ७ सम्म र शुद्धोधन गाउँपालिका (साविक खबनगाई , मानपकडी र सूर्यपुरा गा.वि.स.) रहेको र सैनामैना नगरपालिकाभर यसको कार्यक्षेत्र बिस्तार गर्ने योजना रहेको उहाँको भनाई छ ।
यो संस्थाको अरु गतिविधि के छ भनी सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीको जिज्ञासाको जवाफमा उहाँले ‘यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय तथा गैर-वित्तीय सेवा प्रवाह गरिरहेको छ , जस्तै : यसले गैर-वित्तीय सेवा अन्तर्गत सदस्य संरक्षण योजना , सुत्केरी कोसेली , निर्व्याजी राहत , औषधि उपचार खर्च , उत्कृष्ट मालिक सम्मान , उत्कृष्ट कारोवार सम्मान जस्ता क्रियाकलाप सञ्चालन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी दिवस सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कार्यक्रमहरु गरी मनाउने गरेको छ भने यसले आफ्नो वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम , मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता , सरसफाई कार्यक्रम , जनचेतनामूलक अभिमुखीकरण लगायतका कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै आएको छ भन्नुभयो । यसले आफ्नो कार्यक्षेत्र भित्र भएका सदस्यहरुलाई संगठित बनाउनको लागि टोल-टोलमा गएर टोल उप-समिति बनाउने कार्यलाई तिव्रताका साथ अगाडि बढाउने गरेको छ भन्दै उहाँले यसले सहकारी सिद्धान्त , ऐन र नियमावलीलाई आत्मसाथ गर्दै आफ्नो विनियम बमोजिम १४ वटा नीति र ७ वटा कार्यविधि बनाई विधि सम्मत तरिकाले यो संस्था सञ्चालन भइरहेको बताउनुभयो ।
सोही संस्थाका व्यवस्थापक कोषराज बस्नेतले 
‘९ जनाको सञ्चालक समिति र ६ जना कर्मचारी कार्यरत यस संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार शेयर सदस्य पु-याउने लक्ष्य राखी आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउनको लागि सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्ने नीति र कार्यक्रम निर्माण गरिरहेको छ’, भन्नुभयो ।
सुनाखरी कृषि सहकारीको अध्यक्षमा पुन: अशोक
रुपन्देहीको सैनामैना नगरपालिका-३, मुर्गियामा रहेको सुनाखरी कृषि सहकारी संस्था लि.को२०७७ पुस २४ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पुन: अशोक खड्काको अध्यक्षतामा सञ्चालक समिति र दृश्य बरालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन ग-यो । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा भगवती बानिया , सचिवमा सागर खनाल र कोषाध्यक्षमा विकास बस्नेत तथा सदस्यमा लव विक्रम कार्की र अनिता पन्त एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा मञ्जु घिमिरे र गंगा लम्साल हुनुहुन्छ । उहाँहरुलाई सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रेमबहादुर बानिया लगायतले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना व्यक्त गर्नु भएको थियो ।
सो संस्थाका अध्यक्ष अशोक खड्काको अध्यक्षता , सचिव सागर खनालको सञ्चालन र शेयर सदस्य कोषराज बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस साधारणसभामा त्यसै संस्थाका संस्थापक सचिव तेजप्रसाद लामिछाने र सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष मित्रबहादुर क्षेत्रीले
शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । त्यस सभामा सो संस्थाका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक दृश्य बरालले आर्थिक तथा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । सैनामैना नगरपालिका भरी कार्यक्षेत्र भएको त्यस संस्थामा २०७६/०७७ शेयर सदस्य संख्या ६७५ , शेयर पूँजी रु.७ लाख ८० हजार , निक्षेप संकलन रु.८९ लाख १९ हजार १ सय ९१ र कर्जा लगानी रु.४२ लाख ८९ हजार ८ सय ३५ रहेको सोही प्रतिवेदनमा उल्लेख छ ।
