फेन्सी साकोस , नारायणगढले आफ्नो सेवालाई थप गुणस्तरीय बनाउदै लैजाने

0 Shares

चितवनको  भरतपुर महानगरपालिका-१, इन्द्रदेवमार्ग , नारायणगढमा रहेको फेन्सी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ९औं वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ । सो संस्थाका नवनिर्वाचित अध्यक्ष मेघराज कँडेलले आफ्नो शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गरिरहेको हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तथा तालिम कार्यक्रम सञ्चालन गर्ने बारे योजना बनाइरहेको बताउनु भएको छ । उहाँले आफू नेतृत्वको यस संस्थाको सञ्चालक समितिले विगतमा झैं सहकारीको सिद्धान्त , मूल्य र मान्यता तथा आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हाम्रो यस संस्थाको आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको वित्तीय सेवालाई थप गुणस्तरीय बनाउदै लैजानुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका रचनात्मक गतिविधि सञ्चालन गर्ने योजना रहेको उहाँको भनाई छ ।

उक संस्थाको २०७७ मंसिर २९ देखि पुस ३ गतेसम्म सहकारी संघ /संस्थाको साधारणसभा सम्बन्धी सहकारी विभागको सूचना अनुसार ९औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । सोही संस्थाका अध्यक्ष प्रकाश गैरेको अध्यक्षता तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो । 

उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख आतिथि पौड्यालले सहकारी संघ/ संस्थाहरुले नीति , विधि र प्रविधिलाई अवलम्बन गरी आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी गुणस्तरीय सेवा प्रवाह गर्न र प्रविधिलाई विशेष जोड दिनु पर्ने खाँचो औंल्याउनुभएको थियो ।  त्यस सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष गैरेले सहकारी सिद्धान्त , ऐन र नियम पालना गरी सञ्चालन भइरहेको हाम्रो यो संस्थाले स्थापना भएको छोटो समयमा उल्लेख्य प्रगति गरी सहकारी क्षेत्रमा आफ्नो छुटै परिचय बनाउन सफल भएको बताउनु भएको थियो । उपाध्यक्ष मेघराज कँडेलले संयोजन गर्नु भएको साधारणसभामा सोही संस्थाका सचिव पदमबहादुर के.सी.ले संस्थाको वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष बोधराज शर्माले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक प्रधूम्नकुमार सापकोटाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभाले छलफल गरी पारित गरेको ती प्रतिवेदनमा उक्त संस्थामा आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.३,४३,७०,०००, कुल कोष हिसाव रु.२,५१,०८,२८८.३२ , बचत निक्षेप रु.३६,९७,५९,०२६.०३ , ऋण लगानी रु ३३,८८,५६,५४४.२१ र कुल सम्पति रु.४३,२०,५८,५७५.२० रहेको उल्लेख छ ।

साधारणसभाले ४ वर्षे कार्यकाल रहने गरी मेघराज कँडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति र शिवराज सुवेदीको संयोजकत्वमा लेखा सूपरीवेक्षण समिति चयन गरेको थियो । सो सञ्चालक समितिको उपाध्यक्षमा बालकृष्ण कँडेल , सचिवमा पदमबहादुर के.सी. र कोषाध्यक्षमा बोधराज शर्मा तथा सदस्यमा निरज न्यौपाने , तारादेवी पण्डित , रामचन्द्र सुवेदी , हरि शर्मा पौडेल , मञ्जु श्रेष्ठ , टेकनारायण सापकोटा र दुर्गाप्रसाद न्यौपाने एवं लेखा सुपरीवेक्षण समिति सदस्यमा बुद्धकुमारी श्रेष्ठ र भोजेन्द्र पौडेल हुनुहुन्छ ।

 

Leave a Reply