चन्द्रागिरि साकोस र शुभतारा बहुउद्देश्यीय सहकारी संस्था लि. वीच एकीकरण हुने
काठमाडौंको थानकोट चेकपोष्टमा आफ्नै भवनमा मुख्य कार्यालय तथा काठमाडौंको दहचोक र ललितपुरको लगनखेलमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.र ललितपुरको खुमलटारमा रहेको शुभतारा बहुउद्देश्यीय सहकारी संस्था लि. बीच एकीकरण हुने भएको छ । राष्ट्रिय सहकारी महासंघ लि.का संस्थापक अध्यक्ष दीपक प्रकाश बास्कोटा , चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का नि:बर्तमान अध्यक्ष शिवशंकर मानन्धर लगायतको उपस्थितिमा यही माघ ९ गते ती दुई संस्था वीच एकीकरण हुने सहमतीको कार्यतालिका घोषणा गरिएको थियो । त्यस अवसरमा सो सहमती पत्रमा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष योगेन्द्रकुमार कुँवर र शुभतारा बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष ऋषिराम घिमिरेले यही माघ ५ गते हस्ताक्षर गरेको बताइएको थियो ।
त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.का संस्थापक अध्यक्ष बास्कोटाले एकता प्रकियामा रहेका दुबै संस्थालाई बधाई ज्ञापन गर्दै एकीकृत संस्थाले आफ्ना शेयर सदस्यहरुलाई थप गुणस्तरीय सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस अघि काठमाडौंको दहचोकमा रहेको दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था लि. र ललितपुरको लगनखेलमा रहेको रिचमण्ड सहकारी संस्था लि.सँग एकीकरण गरेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य संख्या १२ हजार ५ सय र कुल सम्पति रु.२ अर्ब ३१ करोड रहेको सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठको भनाई छ । त्यस्तै शुभतारा बहुउद्देश्यीय सहकारी संस्था लि.को शेयर सदस्य संख्या ५ सय र कुल सम्पति रु.२२ करोड रहेको जनाइएको छ ।
