प्रगतिपथमा अगाडि बढ्दै सुकर्म बहुउद्देश्यीय सहकारी संस्था लि. , बलम्बु
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा रहेको सुकर्म बहुउद्देश्यीय सहकारी संस्था लि.की व्यवस्थापक मन्दिरा श्रेष्ठले ‘स्थानीय समुदायमा आधारित यस सुकर्म बहुउद्देश्यीय सहकारी संस्था लि. ले सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी बचत र ऋण कारोवारको माध्यमबाट आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको छ’ भन्नुभयो । उहाँले यतिबेला यस संस्थाको चौथो वार्षिक साधारणसभाले पारित गरेको कार्यक्रम कार्यान्वयन गरिरहेको सहकारी सञ्जाललाई बताउनुभयो ।
२०७७ पुस २७ गते काठमाडौं बलम्बुस्थित चन्द्रागिरि कटेज एण्ड पार्टी प्यालेस(दुरसञ्चार पछाडि)मा सहकारी संघ/संस्थाको साधारणसभा सम्बन्धी सहकारी विभागको निर्देशन पालना गरी उक्त संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको थियो । सो संस्थाका अध्यक्ष धनकृष्ण महर्जनको अध्यक्षतामा सम्पन्न साधारणसभाको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै मेयर गिरीले यो संस्थाले स्थापना भएको छोटो समयमा राम्रो प्रगति गरेको देखियो भन्दै सहकारीको मर्म र भावना अनुरुप यसले उत्पादनमूलक क्षेत्रमा आफूलाई केन्द्रित गर्नु पर्ने खाँचो औंल्याउनुभएको थियो । उक्त साधारणसभामा चन्द्रागिरि नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ , सोही नगरपालिकाका सहकारी शाखा प्रमुख रजश खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै त्यस संस्थाको प्रगतिको कामना गर्नुभएको थियो ।


त्यसै संस्थाका सञ्चालक सदस्य प्रेमकृष्ण महर्जनले स्वागत मन्तव्य र व्यवस्थापक मन्दिरा श्रेष्ठले सञ्चालन गर्नु भएको साधारणसभामा त्यसै संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका अध्यक्ष महर्जनले ‘यस संस्थाका शेयर सदस्यहरुको साथ सहयोग , कर्मचारीहरुको लगनशीलता र स्थानीयवासीहरुको स्नेहले हाम्रो यस सुकर्म बहुउद्देश्यीय सहकारी संस्था लि. कोरोना महामारीमा पनि प्रगतिपथमा अगाडि बढ्न सकिरहेको छ’ भन्नुुभएको थियो । उहाँले यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको सेवालाई थप प्रभावकारी बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा उक्त संस्थाका सचिव राजकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष मन्दिरा श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक साजन तण्डुकारले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
२०७३ चैत ११ गते स्थापना भएको सो संस्थामा आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.५५,९८,४०० , निक्षेप संकलन रु.३,४२,०७,८२४ , ऋण लगानी रु.३,०६,२४,०२८ र व्याज आम्दानी रु.५०,१०,३७६.४३ रहेको बताइएको छ ।
साधारणसभामा सो संस्थाका उत्कृष्ट बचतकर्ता सदस्य नानीछोरी महर्जन , असल ऋणी सदस्य सानकाजी गमाल र मोहन महर्जन तथा उत्कृष्ठ शेयर सदस्य प्रमिला तण्डुकारलाई सम्मान गरिएको थियो ।
२०७७ पुस १९ गते शुभारम्भ भएको त्यस साधारणसभा अन्तर्गत सोही दिन देखि २६ गतेसम्म उक्त संस्थाका शेयर सदस्यहरु वीच संस्थाको प्रतिवेदनहरु माथि छलफल गरी सुझाव संकलन गरिएको थियो ।
