नेपालगञ्ज र चितवनमा नेफ्स्कूनको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

नेफ्स्कून क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा चालु आर्थिक वर्ष २०७७/०७८ को अर्ध-बार्षिक समीक्षा गोष्ठि तथा फिल्ड उप-समिति सदस्यहरुको क्षमता विकास कार्यक्रम विहीबार नेपालगञ्जमा सम्पन्न भएको छ ।नेफ्स्कूनका महासचिव एव नेपालगञ्ज फिल्ड कार्यालय व्यवस्थापन उप-समिति संयोजक दामोदर अधिकारीले कार्यक्रमको अध्यक्षता गर्दै अभियानको जिम्मेवारी, योजना तथा मार्गदर्शनका सम्बन्धमा आफ्नो विचार व्यक्त गर्नु भएको थियो । महासचिव अधिकारीले संघको वृद्धि र विकासका लागि फिल्ड कार्यालयहरुबाट प्राप्त सुझावहरु निकै मत्वपूर्ण रहेको र फिल्डगत रुपमा आएका सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो भने कोषध्यक्ष दीपक पनेरुले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्यता बारे प्रकाश पार्नु भएको थियो । सो अवसरमा नेफ्स्कूनका का.मु. प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले नेफ्स्कूनको बर्तमान अवस्था र उपलब्धीहरु सहितको प्रस्तुतीकरण गर्नु भएको थियो । त्यस्तैगरी नेफ्स्कूनका वरिष्ठ अधिकृत दीपकप्रसाद ढुंगानाले क्षेत्रीय कार्यलयको बार्षिक वित्तीय लक्ष्य र उपलब्धी सहितको प्रस्तुतीकरण गर्नु भएको थियो । त्यस कार्यक्रममा ५ वटै फिल्ड कार्यालयबाट समस्या तथा चुनौतिहरु सहितको फिल्डगत प्रस्तुतीकरण गरिएको बताइएको छ । त्यस समीक्षा बैठक तथा गोष्ढिमा नेफ्स्कूनका सञ्चालक सन्दीप सापकोटा , यज्ञप्रसाद ढकाल र माधव जोशी , लुम्बिनी प्रदेश सहकारी विकास वोर्ड सदस्य हुमा डी.सी., जिल्ला बचत तथा ऋण सहकारी संघहरुका अध्यक्ष, फिल्ड कार्यालय व्यवस्थापन उप-समिति सदस्यहरु, संघको उच्च व्यवस्थापन र फिल्ड कार्यालय इन्चार्जहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी विहीबार नै नेफ्स्कूनको अर्ध-वार्षिक समीक्षा तथा फिल्ड उप-समिति सदस्यहरुको क्षमता विकास गोष्ठि चितवनमा सम्पन्न भएको छ । कार्यक्रममा नेफ्स्कूनको पोखरा , चितवन , बुटवल , लमजुङ र धादिङ फिल्ड कार्यालयको समीक्षा पनि गरिएको सोही संघले जनाएको छ ।