भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.द्वारा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकरी संघ लि.को आयोजनामा आर्थिक वर्ष २०७७/०७८ को अर्धवार्षिक समीक्षा कार्यक्रम २०७७ माघ १५ गते भक्तपुर बैंक्वेट, हाकुफोहिटी , भक्तपुरमा सम्पन्न भयो । त्यस अवसरमा मन्तव्य व्यक्त गर्दै सो संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी अभियानलाई सही दिशामा मार्गनिर्देश गर्न भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो । उहाँले यस संघले सहकारी ऐन, नियमावली र निर्देशिकामा भएका सहकारीको मर्म विपरीत आएका बुँदाहरु एक व्यक्ति-एक सहकारी, ‘क’ वर्गका बैंक, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकमा रहेको रकमलाई मात्र तरलता मान्ने भन्ने जस्ता विषयहरुको संशोधनका लागि सहकारी मन्त्रालय, महासंघ, नेफस्कूनमा ध्यानाकर्षष्ण र पत्राचार गरेको चर्चा गर्दै कोभिड १९ को महामारीले बन्दाबन्दी भएको अवस्थामा यो संघले गरेको गतिविधिहरु र यसले नगरपालिकाहरुमा गरेको सहयोगको पनि स्मरण गर्नुभयो । कार्यक्रममा सोही संघका उपाध्यक्ष हरि बल्लले यस संघको भवन निर्माणले यसले तय गरेको ‘दिगो सहकारी विकासका लागि संघ’ भन्ने परिकल्पना सार्थक हुने विचार व्यक्त गर्नुभयो । त्यसैगरी सो संघका सचिव जगनाथ प्रजापतिले आर्थिक बर्ष २०७७/०७८ को पुष मसान्त सम्ममा सम्पन्न कार्यक्रमको समीक्षात्मक उपलब्धीको जानकारी गराउनुभयो ।उक्त कार्यक्रममा सोही संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आर्थिक बर्ष२०७७/०७८ को पुष मसान्तसम्मको आर्थिक प्रगति प्रस्तुत गर्दै हाम्रो यस संघमा वासलात तर्फ रु.१ अर्व ५५ करोड ५७ लाख पु-याउन सफल भएको छ , जुन गत वर्षको तुलनामा ५१ प्रतिशत वृद्धि र लक्ष्यमा १०१ प्रतिशत प्रगति भएको छ भने यसको आय व्ययमा तय गरेको लक्ष्यको तुलनामा ६० प्रतिशतले प्रगति भई कुल नाफा रु.१ करोड १८ लाख ९२ हजार गर्न सफल भएक बताउनुभयो । उहाँले हालसम्म अग्रिम पाउनुपर्ने व्याजकर रु.२ करोड ५० लाख भन्दा बढी रहेको र सो रकम फिर्ता पाउनका लागि आन्तरिक राजश्व कार्यालयमा पत्राचार भइसकेको छ भन्नूभयो ।त्यस्तैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले प्रस्तुत गर्नुनुभयो भएका प्रतिवेदनमाथि सुझाव राख्नुभयो । संघका व्यवस्थापक बालकृष्ण धोंजुद्धारा सञ्चालित उक्त कार्यक्रममा त्यसै संघको सञ्चालक समिति, उपसमिति र कर्मचारीहरु गरी ४३ जनाको उपस्थिति रहेको थियो ।