नेपाल सहकारी बैंक लि.को प्रारम्भिक भेला सम्पन्न
-इश्वर ढुङ्गेल , काठमाडौं
नेपाल सहकारी बैंक लि. को प्रारम्भिक भेला शनिवार काठमाडौंको बबरमहलस्थित कार्की बैङ्वेटमा सम्पन्न भयो ।
सोही बैंक तदर्थ समितिका संयोजक सुरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भेलाको नेपाली काँग्रेसका उप-सभापति तथा पूर्व उप-प्रधानमन्त्री बिमलेन्द्र निधिले उद्धाटन गर्नु भयो । 

सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि निधिले ‘नेपालमा सहकारी राम्रो सँग फष्टाएपनि एउटा मात्रै् सहकारी बैंकले समग्र सहकारी क्षेत्र समेट्न नसकेकोले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन सबैका लागि नेपाल सहकारी बैंक अपरिहार्य रहेको छ’ भन्नुभयो । उहाँले नेपाल सहकारी बैंक स्थापना हुन नदिन राष्ट्रिय सहकारी बैंक लागेको प्रसङ्ग उल्लेख गर्दै करिव १ हजार सदस्य रहेको यो बैंकको दर्ता कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । उक्त बैंक तदर्थ समिति सदस्य तथा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का कोषाध्यक्ष पुष्प पौडेलले सञ्चालन र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि., लेखा सुपरीवेक्षण समितिकी नि:बर्तमान सदस्य शशि खड्काले स्वागत मन्तव्य व्यक्त गर्नु भएको भेलामा नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री आनन्दप्रसाद ढुङ्गाना , नेपाली काँग्रेसका युवा नेता तथा पूर्व राज्यमन्त्री उदय शम्शेर राणा , नेपाल राष्ट्र बैंकका नि:बर्तमान गभर्नर डा. चिरञ्जीवी नेपाल, राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल ,नेशनल को-अपरेटर्स एलायन्स, नेपालका अध्यक्ष डिल्लीराम तिवारी र महेन्द्रनारायण निधि मेमोरियल सहकारी संस्था लि.का सञ्चालक भानुभक्त ढकाल लगायतले मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रमा नेपाल सहकारी बैंक स्थापना हुन लागेकोमा खुशी व्यक्त गर्दै यो बैंंक समग्र सहकारी क्षेत्रको बैंक बन्न सकोस भनी त्यसको सफलताको कामना व्यक्त गर्नुभयो । देशभरका ४२ जिल्लाका सहकारी अभियानकर्मीहरुको प्रतिनिधित्व रहेको त्यस भेलाका अध्यक्ष भण्डारीले सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंक सबै सहकारी संघ/संस्थाको मर्म र भावना अनुरुप सञ्चालन हुन नसक्नु , यसले सबै ्समग्र सहकारी क्षेत्रलाई समेट्न नसक्नु , यसमा राजनीति करण हुनु , यसले प्रवाह गर्ने कर्जामा विभेद हुनु , यसले नेपाल राष्ट्र बैंकबाट कारोवारको अनुमती प्राप्त गर्नु नसक्नु लगायतका कारणले प्रस्तावित नेपाल सहकारी बैंकको आवश्यकता र औचित्य रहन गएकोले सहकारी ऐन,२०७४ र सहकारी नियमावली ,२०७५ बमोजिम यो बैंकको दर्ता प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
