सहकारीकर्मीहरुका लागि साबुन उद्योग व्यवस्थापन र उद्यम विकास तालिम सम्पन्न

0 Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिकाको प्रायोजन तथा सोही नगरपालिका-१२ बलम्बु-हरियालीमा रहेको चम्किला तारा बचत तथा ऋण सहकारी संस्था लि.को व्यवस्थापन र त्यसै स्थानमा रहेको शान्ति महिला कृषि समुहको आयोजनामा बलम्बु- हरियालीमा जारी सहकारीकर्मीहरुका लागि ७ दिने साबुन उद्योग व्यवस्थापन र उद्यम विकास तालिम मंगलबार सम्पन्न भएको छ । चम्किला तारा महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष तारा रानाको प्रमुख आतिथ्यता तथा शान्ति महिला कृषि समुहकी अध्यक्ष सबिना सञ्जेलको अध्यक्षतामा मंगलबार समापन कार्यक्रम आयोजना गरिएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि राना र शान्ति महिला कृषि समुहकी अध्यक्ष सञ्जेलले संयुक्त रुपमा प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।

शान्ति महिला कृषि समुहकी सचिव लक्ष्मी घले श्रेष्ठले सञ्चालन गर्नु भएको सो कार्यक्रममा अनुगमन समिति संयोजक अञ्जु कुमारी श्रेष्ठले मन्तब्य ब्यक्त गर्दै प्रशिक्षार्थीहरुले तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्नु हुनेछ भनी विश्वास लिइएको बताउनुभयो । उक्त अवसरमा तालिममा सहभागी प्रशिक्षार्थीहरुको तर्फबाट रवि श्रेष्ठ र अनुषा श्रेष्ठले तालिमको अनुभव आदान प्रदान गर्नु भएको थियो । कार्यक्रममा तालिम आयोजक संस्थाकी सदस्य कमला खतिवडाले प्रतिवेदन पेश गर्नु भएको थियो ।

१५ जनाको सहभागिता रहेको त्यस तालिममा चम्किला तारा महिला सहकारी संस्था लि.की सदस्य कल्पलता शर्माले मुल्याङ्कन गर्नुका साथै प्रशिक्षक सञ्चित आले मगरले प्रशिक्षण तथा चम्किला तारा महिला बचत तथा ऋण सहकारी संस्था लि.की कोषाध्यक्ष सीतादेवी सिग्देल तथा प्रशिक्षक निर्मला अधिकारी र कमला कार्कीले प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो ।

उक्त तालिमको यही माघ १४ गते चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले उद्घाटन गर्नु भएको थियो । त्यस उद्घाटन कार्यक्रममा सोही नगरपालिकाकी उप-मेयर लिषा नकर्मीको पनि उपस्थिति रहेको थियो ।

 

Leave a Reply