बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को केन्द्रीय कार्यालय बनेपामा
-इश्वर ढुङ्गेल/ काठमाडौं
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. को केन्द्रीय कार्यालय काभ्रैपलाञ्चोकको बनेपामा आज स्थापना भएको छ । सो कार्यालयको एक समारोहका
बीच सोही संघका अध्यक्ष उद्धव सापकोटाले रिवन काटी उद्घाटन गरी कारोवार शुभारम्भ गर्नुभयो । त्यस अवसरमा अध्यक्ष सापकोटाले अब यस पछि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को काठमाडौंमा कर्पोरेट कार्यालय स्थापना गर्ने र त्यसपछि हेटौंडामा यस संघको सम्पर्क कार्यालय स्थापना गर्ने योजना रहेको बताउनुभयो । यस संघमा ११० वटा सहकारी संघ/संस्थाबाट रु.७० करोड बचत संकलन भएको छ र थप ३५ वटा सहकारी संस्थालाई सदस्यता प्रदान गर्ने निर्णय गरिएको उहाँको भनाई छ । उक्त संघका सचिव जिवसराज खड्काले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा विभिन्न सहकारी संघ/संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।२
०७७ साउन १३ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको हातबाट दर्ता प्रमाण-पत्र प्राप्त गरेको सो संघले २०७७ कार्तिक २२ गते आफ्नो प्रारम्भिक साधारणसभा सम्पन्न गरेको थियो । त्यस प्रारम्भिक साधारणसभाबाट पुन: उद्धव सापकोटाको अध्यक्षतामा सञ्चालक समिति चयन भएको थियो । ४ वर्षे कार्यकाल रहेको उक्त सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा राधा सिन्तान, महासचिवमा जिवसराज खड्का, सचिवमा गोविन्दप्रसाद काफ्ले र कोषाध्यक्षमा टापबहादुर श्रेष्ठ तथा सदस्यमा तेजेन्द्र खड्का, इन्द्र घिमिरे , जगन्नाथ दाहाल, ठाकुर बास्कोटा, कृष्ण गोविन्द लाखाजु , प्रदीप थापा , प्रकाश बञ्जारा , ओमप्रसाद अधिकारी, राधा कडेरिया , चक्रबहादुर बस्नेत र कृष्णहरि कोइराला हुनुहुन्छ । त्यसै सोही साधारणसभाले लेखा सुपरीबेक्षण समितिको संयोजकमा केशवप्रसाद दंगाल तथा सदस्यमा रमिला श्रेष्ठ र रमेश श्रेष्ठ चयन हुनु भएको थियो ।
