मार्ट सञ्चालनको तयारी गर्दै हिमनदी साकोस ,भोला गणेश-९ , ललितपुर

ललितपुर महानगरपालिका-९ , भोला गणेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.ले गत महिना सम्पन्न आफ्नो ११औं वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ । सो संस्थाका अध्यक्ष सागरमान व्यञ्जनकारले
‘हाम्रो यस संस्थाले मार्ट सञ्चालनको तयारी गर्ने कार्य गरिरहेको छ’ भन्नुभयो । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले ‘कोभिड-१९ को कारण बढेको तरलता व्यवस्थापन गरिरहेको हाम्रो यस संस्थाले आफ्नो कार्यक्षेत्र भित्र आफ्ना शेयर सदस्यहरुले सञ्चचालन गरिरहेको व्यवसाय र उद्यमशील कार्यलाई प्रवर्द्धन गर्न सहयोग गर्ने र नयाँ व्यवसाय तथा उद्यमशील कार्य शुरु गर्न प्रोत्साहन गर्ने गरी कार्य गरिरहेको बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ मा भएको कारोवारको आधारमा आफ्ना शेयर सदस्यहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेको हाम्रो यो संस्थामा २०७७ माघ २३ गतेसम्म शेयर सदस्य संख्या ९५४ , शेयर पूँजी रु.१,२२,८९,९०० , बचत संकलन रु. १०,८५,५६,२९० , कर्जा लगानी रु.८,९७,२९,६५१ , जगेडा कोष रु.७८,१५,७३४/४८ र कूल कारोवार रु.१३,९७,९४,३२८ रहेको छ’, उहाँको भनाई छ ।
२०७७ पुस १८ गते सनराइज फुड क्याफे , ललितपुरमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी उक्त संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । सोही संस्थाका अध्यक्ष सागरमान व्यञ्जनकारको अध्यक्षतामा सम्पन्न साधारणसभाको त्यसै संस्थाका व्यवस्थापक अशोक घिमिरेले संयोजन गर्नु भएको थियो । त्यस साधारणसभाले उक्त संस्थाका अध्यक्ष व्यञ्जनकारले प्रस्तुत गर्नु भएको वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष राजु शाक्यले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुशिल व्यञ्जनकारले प्रस्तुत गर्नु भएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरेको थियो ।

