एकीकृत फेण्डसिप साकोसले ग-यो थप ३ वटा सहकारी संस्थासँग एकीकरण
११ वटा सहकारी संस्थाहरुसँग एकीकरण गरी सकेको दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि.ले पुन: दोलखा र रामेछापमा सञ्चालनमा रहेका थप ३ वटा संस्थासँग एकीकरण सम्पन्न गरेको खबर प्राप्त भएको छ । सो संस्थाले जिरीश्वरी महिला महिला बचत तथा ऋण सहकारी संस्था लि. , कुखुरा व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. र प्रिति बचत तथा ऋण सहकारी संस्था लि., बीच एकीकरण गरेको हो । यही माघ २९ गते बागमती प्रदेश , भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयबाट उक्त संस्थालेे ती तीन संस्था सँग एकीकरण गर्ने स्वीकृति प्राप्त गरेको जनाइएको छ ।
दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउपालिकाको वडा नं. १, २, ३ र ४ मा कार्यक्षेत्र रहेको त्यस संस्थासँग थप तीन संस्थाको एकीकरण भएसँगै सोही संस्थाको कार्यक्षेत्र दोलखाको भिमेश्वर नगरपालिका , जिरी नगरपालिका र वैतेश्वर गाउँपालिका तथा रामेछापको उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा कार्यक्षेत्र कायम भएको छ । मुख्य कार्यालय सहित ९ स्थानबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको त्यो संस्थाले दोलखाको चरिकोट तथा रामेछापको बेताली र प्रितिमा सदस्य सेवाकेन्द्र थप गर्ने भएको छ ।
हाल संस्थाले मुख्य कार्यालयसहित जिरी नगरपालिका र गोकुलगंगा गाउँपालिकामा समेत गरी ९ वटा स्थानहरुबाट सदस्यलाई वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले भिमेश्वर नगरपालिका स्थित चरिकोट, गोकुलगंगा गाउँपालिकाको बेतालीमा र उमाकुण्ड गाउँपालिको प्रितिमा थप सेवा केन्द्र विस्तार गर्ने योजनामा रहेको बताइएको छ ।
