भद्रावती साकोसले बृहत रक्तदान कार्यक्रम आयोजना गरी मनायो आफ्नो ११औं स्थापना दिवस

0 Shares

काठमाडौं महानगरपालिका-३२, कोटेश्वर- सहयोगीनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.ले यही फागुन १ गते शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना गरी आफ्नो ११औं स्थापना दिवस एक अर्कामा शुभकामना आदान प्रदान गरेर मनाएको छ । सोही संस्थाका अध्यक्ष जयबहादुर खड्काको अध्यक्षता तथा पूर्व मन्त्री दिनबन्धु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न सो रक्तदान कार्यक्रम काठमाडौं महानगरपालिका -३२, कोटेश्वर- सहयोगीनगरस्थित कृष्णकुञ्जमा सम्पन्न भएको थियो । त्यसै संस्थाका उपाध्यक्ष कृष्णबहादुर थापाले स्वागत र सचिव केदारबहादुर कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि अर्यालका साथै समाजसेवीहरु कृष्णप्रसाद अधिकारी , डी.आर. पोखरेल र थमलाल खनाल र नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक सुरेन्द्र भट्ट लगायतले सो संस्थाले सञ्चालन गर्दै आएको गतिविधिप्रति प्रशन्नता व्यक्त गर्दै रक्तदान कार्यक्रमको सफलताको कामना व्यक्त गर्नुभयो ।  काठमाडौंको सोल्टीमोडस्थित नेपाल रेडक्रस सोसाइटी- केन्द्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ७३ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । सो अवसरमा त्यस संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु , कर्मचारीहरु एवं शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

त्यसै अवसरमा सोही संस्थाका कार्यालय प्रमुख पदम श्रेष्ठले सहकारी सञ्जालसँग कुरा गर्दै आउदो राष्ट्रिय सहकारी दिवसको अवसरमा हाम्रो यस संस्थाले सहकारी शिक्षा तथा तालिम कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ भन्नुभयो । उहाँले शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गर्नुका साथै आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको यस संस्थामा शेयर सदस्य संख्या १,४०० , शेयर पूँजी रु.२ करोड ५ लाख , निक्षेप संकलन रु.१४ करोड , कर्जा लगानी रु.१३ करोड , जगेडा तथा अन्य कोष रु १ करोड ३० लाख र कूल कारोवार रु.२० करोड रहेको बताउनुभयो । हाम्रो  यो संस्थाले ५ वर्ष भित्र आफ्नो भवन निर्माण गर्ने योजनाका साध काठमाडौं महानगरपालिका-३२, जडिबुटीमा जग्गा खरीद गरेको उहाँको भनाई छ ‌।

Leave a Reply